Kathmandu Press

‘सुशासन र समृद्धिको नयाँ यात्रामा सरकार अग्रसर छ’

सरकारको प्राथमिकताहरू न्यूनतम साझा कार्यक्रममा समावेश गरिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले संसदमा आफूले सम्बोधन गर्ने क्रममा केही विषयलाई महत्वका साथ समावेश गरेको उल्लेख गरे।
‘सुशासन र समृद्धिको नयाँ यात्रामा सरकार अग्रसर छ’

काठमाडौं, माघ २९ : प्रधानमन्त्री पुष्पकमल दाहालले आफू  नेतृत्वको सरकारले सार्वजनिक र निजी क्षेत्रको सहकार्य सुदृढीकरण, बेथितिको अन्त्य र युवाले पाइरहेको हैरानीलाई सम्बोधन गर्न जोड गरेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सुशासन र समृद्धिको नयाँ यात्रामा अग्रसर रहेको र त्यसमा सफलता हासिल गर्नैपर्ने बताए।,

सरकारको प्राथमिकताहरू न्यूनतम साझा कार्यक्रममा समावेश गरिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले संसदमा आफूले सम्बोधन गर्ने क्रममा केही विषयलाई महत्वका साथ समावेश गरेको उल्लेख गरे। उनले अब परम्परागत रुपले मुलुकको आर्थिक विकास र समृद्धिको चाहना पूरा नहुने भएकाले त्यसमा ‘रेडिकल रिफर्म’ तिर जानुपर्छ भन्नेमा जोड रहेको बताए।

संविधानमा उल्लेख भएको समाजवाद उन्मुख अर्थतन्त्रका विषयमा प्रधानमन्त्रीले मुलुकलाई सामाजिक न्याय, सुशासन र समृद्धिको मार्गमा अगाडि बढाउने संकल्प पूरा गर्न अर्थशास्त्रका जानकार सबैलाई आग्रह गरे।

मंसिर ४ गते सम्पन्न निर्वाचनको अभियान चलाउँदै गर्दा पनि आफूले अबको मार्गभित्र आर्थिक विकास र समृद्धि नै भएको उल्लेख गरेको समेत स्मरण गरे।

राष्ट्र र जनताका अगाडि गरेको संकल्पलाई पूरा गर्न आफू दृढ इच्छाशक्तिका साथ लागिपरेको  जानकारी दिँदै उनले परिस्थितिमा परिवर्तन ल्याउने अठोट गरियो भने मात्रै त्यसबाट सकारात्मक परिणाम हासिल हुने बताए।

‘सामाजिक न्यायलाई सम्बोधन गर्ने लक्ष्यका साथ संविधानमा नै समाजवाद उन्मुख अर्थतन्त्र भनेर उल्लेख गरिएको निजी, सार्वजनिक र सहकारी क्षेत्रको समन्वय आवश्यक छ,’ प्रधानमन्त्री दाहालले भने, ‘तीन तहको सरकार स्थापना गरेर जनतालाई अधिकार सम्पन्न बनाउने प्रयत्न गरिएको छ।’

सम्पूर्ण शक्ति सिंहदरबारमा केन्द्रित हुँदा जनताको नियन्त्रण, निगरानी हुन नसक्ने र सीमित वर्गको हातमा अधिकार रहँदा जनता निरीह हुने भएकाले तीन तहको सरकार निर्माण गरी जनतालाई अधिकार सम्पन्न बनाइएको समेत प्रधानमन्त्रीको भनाइ छ।

प्रकाशित मिति: २१:१३ बजे, आइतबार, माघ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्