चितवन–२ मा उपनिर्वाचन : चैत २० गते उम्मेदवारी दर्ता, वैशाख १० गते चुनाव
आयोगले फागुन १ गतेदेखि चैत १६ गतेसम्म मतदाता नावालवली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ ।
काठमाडौं, माघ २९ : निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ रिक्त रहेको चितवन–२ मा उपनिर्वाचनको मिति तोकेको छ। आइतबार विज्ञप्ति जारी गर्दै आयोगले रिक्त रहेको चितवन–२ मा आगामी वैशाख १० गते मतदान हुनेगरी निर्वाचन मिति तोकेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अविध ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था भएबमोजिम आयोगले उपनिर्वाचनको मिति तोकेको जानकारी दिए ।
आयोगले उपनिर्वाचनसम्बन्धी निर्वाचन कार्यक्रमअनुसार फागुन १ गतेदेखि चैत १६ गतेसम्म मतदाता नावालवली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ । त्यस्तै चैत २० गते उम्मेदवारको मनोनयन दर्ता, चैत २१ गते दाबी विरोध र चैत २२ गते उम्मेदवारको नामावली चैत २२ गते प्रकाशन गरिने आयोगको विज्ञप्तिमा उल्लेख छ ।
आयोगले उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चैत २३ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने जानकारी दिएको छ ।
गत मंसिर ४ मा भएको निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए।
उनको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको सांसद पद खारेज गरिदिएको थियो ।












