Kathmandu Press

मलमास पर्दा २०८० का चाड दुई साता पछि सर्ने, दसैंकाे टीका कात्तिक ७ गते

२०८० सालका लागि समितिले १५ वटा पात्रो (पञ्चांग) लाई स्वीकृति दिने निर्णय गरेको थियो। स्वीकृति दिएका पात्रो डेढ साताअघिदेखि नै बजारमा आउन थालेका हुन्।
मलमास पर्दा २०८० का चाड दुई साता पछि सर्ने, दसैंकाे टीका कात्तिक ७ गते

काठमाडौं, माघ २९ : २०८० सालको पात्रो (पञ्चांग) बजारमा आउन थालेको छ। ग्रह पद विभाजनअनुसार राजा बुध र मन्त्री शुक्र भएको २०८० सालको पात्रो सार्वजनिक हुने क्रम सुरु भएको हो।

आगामी साल पिंगल नामको संवत्सर रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। २०८० सालका लागि समितिले १५ वटा पात्रो (पञ्चांग) लाई स्वीकृति दिने निर्णय गरेको थियो। स्वीकृति दिएका पात्रो डेढ साताअघिदेखि नै बजारमा आउन थालेका हुन्।

नयाँ पञ्चांगअनुसार २०८० सालमा हिन्दुका सबैजसो चाड दुई साता पछाडि सरेका छन्। साउनमा अधिक मास (मलमास) पर्न गएकाले सोही बमोजिम अरु चाड पछि सर्ने भएका हुन्। बडादसैं कात्तिकमा पर्दा हरितालिका तीजको व्रत असोजमा पर्न गएको छ। दसैं प्रायः असोज र तीज भदौमा पर्ने गर्छ।

२०८० सालको घटस्थापना असोज २८ गते हुनेछ भने विजयादशमी कात्तिक ७ मा पर्नेछ। २०७९ सालको घटस्थापना असोज १० मा र विजयादशमी असोज १९ गते परेको थियो। २०८० सालको तिहार करिब १५ दिनपछि धकेलिनेछ।

श्रावण कृष्णपक्ष असार १९ बाटै सुरु हुनेछ। साउन २ देखि १६ गतेसम्म अधिक श्रावण कृष्णमास सुरु हुन्छ। फेरि साउन १७ देखि ३१ सम्म अधिक श्रावण कृष्णपक्ष परेको छ। फेरि साउन ३२ देखि भदौ १४ सम्म श्रावण शुक्लपक्ष परे अनुसार पात्रो बदलिएको छ।

असार १९ देखि भदौ १४ सम्म एउटै मास पर्न गएकाले यसलाई अधिक मास अर्थात् मलमास भन्ने गरिन्छ। भदौ १४ सम्म तिथिका आधारमा ‘श्रावण मास’ नै पर्ने भएको हुँदा आउने सालका सबै चाडहरु यो वर्षको भन्दा कम्तिमा १५ दिन पछाडि धकेलिन गएका हुन्।

यसरी धकेलिने क्रममा २०८० सालमा चैते दसैं नै नहुने भएको छ। २०८० सालको चतुर्थी तिथिमै चैत्र मास सकिने भएकाले चैते दसैं २०८१ सालको वैशाखमा सर्ने भएको हो।

प्रकाशित मिति: १७:२५ बजे, आइतबार, माघ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्