एसिड हमलाका अभियुक्तलाई हदैसम्मको सजाय, पीडकबाट १५ लाख क्षतिपूर्ति भराइने
२०७७ साउन ११ गते काठमाडौंमा भएको दर्दनाक अपराधबाट पीडित ओखलढुंगाकी पबित्रा कार्कीले ‘फाष्ट ट्रयाक’ बाट डेढ बर्षमै न्याय पाएकी हुन्।
काठमाडौं, माघ २९ : राजधानीको सीतापाइलामा दुई वर्षअघि भएको एसिड हमलाका दुईजना अभियुक्तलाई आइतबार काठमाडौं जिल्ला अदालतले हदै सम्मको सजाय तोकेको छ।
२०७७ साउन ११ गते काठमाडौंमा भएको दर्दनाक अपराधबाट पीडित ओखलढुंगाकी पबित्रा कार्कीले ‘फाष्ट ट्रयाक’ बाट डेढ वर्षमै न्याय पाएकी हुन्।
काठमाडौं जिल्ला न्यायाधीश प्रकास पण्डितको इजलासले कार्कीमाथि एसिड प्रहार गर्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई जनही ७ वर्ष कैद, दुई जनाबाट ५ लाख जरीवाना र पीडितलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको जानकारी पीडितका तर्फबाट वकालत गरेकी अधिवक्ता राधिका खतिवडाले जानकारी दिइन्।
यसअघि अदालतको आदेश अनुरुप एसिड प्रहार गर्ने अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। सुनिता थापाको जाहेरी अनुरुप आक्रमणमा संलग्न आलम र मोहम्मदविरुद्ध २०७७ साल भदौ २ गते अभियोगपत्र दायर भएको थियो।
यसअघि जिल्ला अदालतले ‘न्यायिक सक्रियता’ मार्फत एसिड प्रहारमा परेकी कार्कीको उपचारका लागि राहतकोषबाट २ लाख रुपैयाँ तुरुन्त उपलब्ध गराउन आदेश समेत दिएको थियो। यसअघि एसिड प्रहार गर्नेहरुलाई अदालतले पुर्पक्षका लागि थुनामा मात्र पठाउने प्रचलन थियो। यो मुद्दामा भने प्रारम्भिक सुनुवाइमै अदालतले पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको थियो।
डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुङ्गाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो।
पीडितलाई उपचारमा सहयोग पु¥याउने ध्येयले प्रारम्भिक सुनुवाइमै राहतकोषबाट रकम दिने गरी आदेश भएको थियो।
उक्त मुद्दामा आरोपीलाई हदैसम्म सजाय र पीडितलाई राहतको मागसहित पीडितको तर्फबाट अधिवक्ताहरु राधिका खतिवडा, नानीबाबु बुढाथोकी, शान्तिराम खतिवडा, कुमार घिमिरे, दीपबहादुर कार्की, भुवन निरौला लगायत १० जनाले बहस गरेका थिए। सरकारको तर्फबाट चपला पोखरेलले बहस गरेकी थिइन्। एसिड प्रहार गर्ने आलम र मुन्ना घटना भएकै दिन पक्राउ परेका थिए।
बहसमा संलग्न पीडितका कानुनव्यवसायीले पीडितलाई न्यायका लागि छिटोछरितो फैसला भएको र पीडकलाई कानुनी रुपमा हदैसम्मको सजाय तोकिएको बताएका छन्।











