सरकारले बजेटकाे आकार १४ प्रतिशत घटायाे, नयाँ कार्यक्रम र योजना नल्याइने
सरकारी खर्च कटौती गर्नुपर्ने अवस्था आएकाले सरकारले चालु आर्थिक वर्षमा नयाँ कार्यक्रम र योजना प्रस्ताव नगर्ने मन्त्री पौडेलले बताए।
काठमाडौं, माघ २९ : सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा बजेटको मध्यावधि समीक्षा प्रस्तुत गर्दै चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारेको जानकारी दिए।
जसअनुसार यसअघिका अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेटको आकार २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशत घटाइएको देखिएको छ।
उनले चालु खर्च पनि १ खर्ब ६१ अर्ब ३१ करोड घटाएको जानकारी दिए। यसअघिका अर्थमन्त्रीले ११ खर्ब ८३ अर्ब २३ करोडको चालु खर्च १० खर्ब २१ अर्ब ९२ करोडमा झारेको जानकारी दिएका हुन्।
पूँजीगततर्फ ६६ अर्ब ५२ करोड बजेट कटौती गरिएको छ। गत जेठ १५ मा ३ खर्ब ८० अर्ब ३८ करोड छुट्याइएकोमा ३ खर्ब १३ अर्ब ८५ करोड रुपैयँँमा झारिएको उनले बताए।
सरकारी खर्च कटौती गर्नुपर्ने अवस्था आएकाले सरकारले चालु आर्थिक वर्षमा नयाँ कार्यक्रम र योजना प्रस्ताव नगर्ने मन्त्री पौडेलले बताए।
अर्थ मन्त्रालयबाट स्रोतको सहमति लिएका तर कार्यान्वयनमा जान बाँकी रहका आयोजनाहरुको पुनः प्राथमिकीकरण गर्ने पनि उनले बताएका छन् । त्यस्त आयोजना कार्यान्वयनमा लैजानुपूर्व सम्बन्धित मन्त्रालयले पुनः अर्थ मन्त्रालयको सहमति लिनुपर्ने जानकारी उनले दिए।











