भीभीआइपीको सवारीका क्रममा जनतालाई अप्ठ्यारो नपर्ने गरी सुरक्षा व्यवस्था मिलाउन माग

काठमाडौं, माघ २९ : नेकपा एमालेका सांसद रघुजी पन्तले मुलुकका भीभीआइपीहरुको सवारी हुँदा जनतालाई अप्ठ्यारो नपर्ने गरी सुरक्षा व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले भीभीआइपीको सवारी हुँदा आम जनताले सास्ती खेप्नुपरेको र त्यसबाट सरकारप्रति आलोचनाका स्वरहरु बुलन्द हुन थालेको भन्दै यसबारेमा सरकार गम्भीर हुनुपर्ने बताएका हुन् ।
पन्तले भीभीआइपीहरुको सवारीको समयमा हुने जामका कारण एम्बुलेन्स समेत घन्टौं रोकिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए। उनले शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा आफू पनि सडकमा यात्रा गरिरहेको र सडकमा यात्रा गरिरहेका अन्य मानिसहरुले सरकार र सांसदलाई गाली गरेपछि मुख छोप्नुपरेको बताए ।
‘एम्बुलेन्समा कस्ता बिरामी थिए मलाई थाहा भएन। अलि गम्भीर बिरामी थिए भने त ज्यान नै जान सक्छ । थुप्रै मानिसले गाली गरिरहेका छन्। मैले सांसदकोलोगो छोप्नुपर्यो, म चढेको बाइकलाई अगाडि बढाऊ भनेर मुखमा मास्क लगाउनुपर्यो किनभने त्यहाँ सांसदलाई पनि गाली गर्न थाले।’
उनले अगाडि भने, ‘यो गर्ने भनेको सरकारले हो। सरकारले यो नगर्ने अनि राष्ट्रपतिले किन गाली खाने ?,’ उनले भने, ‘राष्ट्रपतिजस्तो संस्था किन विवादमा पर्नेरु त्यसैले यस विषयमा म अविलम्ब प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दछु।’











