लुम्बिनी प्रदेशका सात मन्त्रीले लिए शपथ
दाङको मौरीघाटमा आज (आइतबार) आयोजित एक समारोहबीच प्रदेश प्रमुख अमिक शेरचनले ती मन्त्रीलाई शपथ दिलाएका हुन्।
बुटवल, माघ २९ : लुम्बिनी प्रदेश सरकारका ७ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।
दाङको मौरीघाटमा आज (आइतबार) आयोजित एक समारोहबीच प्रदेश प्रमुख अमिक शेरचनले ती मन्त्रीलाई शपथ दिलाएका हुन्।
शनिबार पुनर्गठित मन्त्रिपरिषदमा एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट एकएक जना नियुक्त भएका थिए।
शपथ लिने मन्त्रीमा माओवादी केन्द्रबाट आर्थिक मामिला मन्त्री जोखबहादुर महरा र भाैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु छन्। त्यस्तै एमालेबाट स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी र कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा छन्। उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादव राप्रपाका हुन्र भने र सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ता जनमत पार्टीका हुन्।
दिउँसो १ बजे प्रदेश सभा भवन परिसरमा हुने भनिएको कार्यक्रम हावा हुरीले मञ्च र टेन्ट भत्काइदिएपछि दुई घन्टा ढिला मौरीघाटमा गरिएको हो।











