Kathmandu Press

गठबन्धनलाई अझै मजबुत बनाउने सहमति, रास्वपालाई सरकारमा ल्याउनेबारे छलफल 

सत्ता साझेदार दलबीच कुनै मतभेद छैन, सरकार गठनअघि भएका सहमतिमा केही परिमार्जन गर्नुपर्ने भए बैठक र छलफलबाटै सहमति हुन्छ : लिङ्देन
गठबन्धनलाई अझै मजबुत बनाउने सहमति, रास्वपालाई सरकारमा ल्याउनेबारे छलफल 

काठमाडौं, माघ २९ : सत्ता साझेदार दलहरुबीच गठबन्धनलाई अझै मजबुत बनाएर लैजाने सहमति भएको छ । 

आइतबार बिहान बालुवाटारमा भएको सत्तागठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा आगामी दिनमा सत्ता गठबन्धनलाई अझै बलियो बनाएर लैजाने सहमति भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन् । 

उनका अनुसार आजको बैठकमा हालसम्म सरकारले गरेको कामकारबाही, आपसी समन्वय र कमजोरीका सम्बन्धमा समीक्षा भएको छ । गठबन्धनलाई मजबुत बनाउन नियमित रुपमा भेटघाट गर्ने र छलफललाई निरन्तरता दिने सहमति भएको लिङ्देनले बताए । 

उनले सत्ता गठबन्धनको भविष्यका बारेमा बाहिर आएका टिप्पणीहरु भ्रमपूर्ण रहेको बताएका छन् । राष्ट्रपतिको उम्मेदवारका सम्बन्धमा सञ्चारमाध्यम तथा सार्वजनिक रुपमा चलेका चर्चाहरु गलत रहेको बताउँदै लिङ्देनले सरकार गठनअघि भएको सहमतिमा सत्ता साझेदार दलहरु प्रतिबद्ध रहेको बताए ।  

‘सत्ता साझेदार दलबीच कुनै मतभेद छैन, सरकार गठनअघि भएका सहमतिमा केही परिमार्जन गर्नुपर्ने भए बैठक र छलफलबाटै सहमति हुन्छ,’ लिङ्देनले भने । 

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउनेबारेमा पनि छलफल भएको लिङ्देनले जानकारी दिए । ‘उपयुक्त समयमा रास्वपा सरकारमा आउन पनि सक्छ । त्यसको बारेमा प्राविधिक समस्याहरु छन् । छलफल भइरहेको छ , निरन्तरता दिने भन्ने कुरा भएको छ,’ उनले भने ।  
 

प्रकाशित मिति: १३:०८ बजे, आइतबार, माघ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्