Kathmandu Press

चिकित्सक संघले फिर्ता लियो आन्दोलन, सरकारसँग ६ बुँदे सहमति 

शुक्रबार राष्ट्रपतिको सवारीको समयमा सडकमा निस्केको भन्दै ट्रमा सेन्टरका एक चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको थियो ।
चिकित्सक संघले फिर्ता लियो आन्दोलन, सरकारसँग ६ बुँदे सहमति 
वीर अस्पताल परिसरमा बिरामीकाे भीड

काठमाडौं, माघ २९ :  नेपाल चिकित्सक संघले आन्दोलन फिर्ता लिएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार र संघका प्रतिनिधिबीच भएको छलफलपछि आन्दोेलन स्थगित गर्दै बन्द रहेका अस्पताल खोल्ने सहमती भएको हो । 

संघ र सरकारबीच ६ बुँदे सहमति भएको बताइएको छ । प्रहरीद्वारा चिकित्सक कुटिएको घटनामा एक हप्ताभित्र छानबिन गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने लगायतका सहमति भएको बताइएको छ । 

शुक्रबार राष्ट्रपतिको सवारीको समयमा सडकमा निस्केको भन्दै ट्रमा सेन्टरका एक चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको थियो । सोही घटनाको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गरेको थियो । 

चिकित्सककले सेवा ठप्प बनाएपछि काठमाडौंका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल लगायतका सरकारी अस्पतालहरुमा बिरामीको भीड लागेको छ । अस्पताल बन्द रहेको सूचना पढेर केही बिरामीहरु निराश भइ घर फर्किएका छन् । केहीले उपचारको माग गर्दै सडकमा आन्दोलन समेत गरेका थिए । 

वार्तापछि आजै अस्पतालको नियमित सेवा सुचारु हुने बताइएको छ । 
 

प्रकाशित मिति: १२:१० बजे, आइतबार, माघ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्