वीरमा उपचार नपाएपछि निरास हुँदै घर फर्किए बिरामी
उपचार सेवाको माग गर्दै बिरामी र तिनका आफन्तहरुले आइतवार विहान केहीबेर वीर अस्पताल अगाडिको सडकमा प्रदर्शनसमेत गरेका थिए ।
काठमाडौं, माघ २९ : वीर अस्पतालका चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा बन्द गरेपछि उपचारका लागि अस्पताल पुगेका बिरामीहरु निरास भएर घर फर्किएका छन् । उपचार सेवाको माग गर्दै बिरामी र तिनका आफन्तहरुले आइतवार विहान केहीबेर वीर अस्पताल अगाडिको सडकमा प्रदर्शनसमेत गरेका थिए ।
वीरका सुरक्षा गार्डहरुले ओपीडी सेवा बन्द भएको बताउँदै घर फर्किन भनेपछि बिरामीहरु उपचारको माग गर्दै सडकमा ओर्लिएका हुन् । वीर अस्पतालको गेटको भित्तामा नेपाल चिकित्सक संघले ओपिडी सेवा वन्द गर्ने गरी जारी गरेको विज्ञप्ति टाँसिएको छ ।
गत माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकलाई सुरक्षाकर्मीले लाठी प्रहार गरेर घाइते बनाएको बिषयलाई लिएर नेपाल चिकित्सक संघ आन्दोलित बनेको थियो । संघको आह्वानमा आइतवार चिकित्सकहरुले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् ।
अहिले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच समस्या समाधानका लागि वार्ता भइरहेको छ ।











