हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं, माघ २९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिएका छन् ।
नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र प्रगतिशील पत्रकार सङ्घ दाङद्वारा संयुक्तरूपमा आज आयोजित स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले विसं २०२७ को कानुनी संरचनामा रहेको हुलाक सेवाको तत्काल पुनःसंरचना गर्न लागिएको बताइन्। उनले भनिन्, ‘समयसापेक्ष सूचना प्रविधि र सङ्घीय संरचनाअनुसार काम अघि बढाउने गरी ‘ड्राफ्ट’ तयार भइसकेको छ।’
उनले ‘मिडिया’ क्षेत्रमा देखापरेको समस्याका बारेमा मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि जानकारी लिने काम जारी रहेको बताइन्। आगामी दिनमा पत्रकार र सञ्चार क्षेत्रको सवलीकरण हुने खालका कार्यक्रमलाई अघि बढाइने र सरकारी सञ्चारमाध्यमलाई प्रदेशस्तरमा व्यवस्थित गर्ने कामको थालनी गरिने उनले बताइन्।











