अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा नेपाल सामेल हुँदैन : उपप्रधानमन्त्री पोखरेल
पोखरा, पुस २४ : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि प्रकारको अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा नेपाल सामेल नहुने बताएका छन्।
प्र....

पोखरा, पुस २४ : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि प्रकारको अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा नेपाल सामेल नहुने बताएका छन्।
प्रेस संगठन नेपाल कास्कीले बिहीबार गरेको पत्रकार सम्मेलनमा एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले यो विषय संसद्मा छलफलका क्रममा रहेको र बहुकोणबाट राष्ट्रिय हितलाई सर्वोपरी राखेर यसको फैसला हुने बताए।
“यो विषय संसद्मा छ, छलफल हुँदैछ, राष्ट्रिय हितलाई सर्वोपरी राखेर निर्णय गरिन्छ”, उनले भने, “हामी कुनै इन्टरनेशनल मिलिट्री एलाइन्समा सामेल हुँदैनौं।” विद्युत्, विकास र यातायातका क्षेत्रमा नेपाली जनताको अधिकतम हितमा प्रयोग गर्नेगरी विगतको सरकारका पालामा नै यो विषय औपचारिक माग गरिएको उनले बताए।
भारतसँगको सीमा विवादका सम्बन्धमा सरकारले औपचारिक दावीसहित पहिलोपटक आधिकारिकरूपमा कूटनीतिक नोट पठाएको जानकारी दिँदै उनले वार्ताको मिति तय हुनासाथ विवादित विषय छलफलका आधारमा टुंगोमा पुर्याइने बताए।
“हामी हाम्रो एक इन्च भूमि पनि अरुलाई अतिक्रमण गर्न दिँदैनौँ, अरु कसैको एक इन्च जमीन पनि हामीलाई चाहिँदैन”, उनले भने, “सुगौली सन्धिको बेला जुन हाम्रो सीमा थियो त्यसमा हामी ध्यान दिन्छौं।” सुगौली सन्धिपछि एकतर्फीरूपबाट सीमा साँघुर्याउने काम भएकामा उनले गम्भीर ध्यानकर्षण भएको बताउँदै ऐतिहासिक तथ्य, प्रमाणका आधारमा हाम्रो सीमा जहाँ थियो त्यहीँ कायम राखिने बताए।
नेपाल ट्रष्टको चल एवं अचल सम्पत्ति शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यवसायमा उपयोग गर्ने स्पष्ट नीति रहेको उल्लेख गर्दै ट्रष्टका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले कानूनसम्मत ढङ्गले यिनीहरूको सदुपयोग गरिने स्पष्ट पारे।
उपप्रधानमन्त्री पोखरेलले पुस २७ गते बस्ने संसद् बैठकअघि नै संघीय संसद्को सभामुखका विषयमा टुंगो लागि सक्ने जानकारी दिए।
पश्चिम एशियामा रहेका नेपालीको अवस्था सम्बन्धमा सोधिएको प्रश्नमा उनले अन्य काम एवं शान्ति सेनामा कार्यरत नेपालीको अवस्था एवं सुरक्षा सम्बन्धमा नेपाली सेनाको मुख्यालयमार्फत त्यहाँस्थित संयुक्त राष्ट्रसंघ र सम्बद्ध एजेन्सीसँग सम्पर्क भइरहेको जानकारी दिए। नेपालीहरुको सुरक्षाका लागि सजगता अपनाइएको उनले बताए। रासस









![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)

