Kathmandu Press

शिवरात्रिका लागि सिँगारिँदै पशुपति

महाशिवरात्रि नजिकिदै गर्दा पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाउन थालिएको छ । मारवाडी समितिको सहकार्यमा पशुपतिनाथ मन्दिर क्षेत्रमा फूलले सजावट गर्ने काम भइरहेको हो।
शिवरात्रिका लागि सिँगारिँदै पशुपति

काठमाडौं, माघ २८ : पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारी स्वरुप झिलिमिली बनाउन थालिएको छ।

महाशिवरात्रि नजिकिदै गर्दा पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाउन थालिएको छ । मारवाडी समितिको सहकार्यमा पशुपतिनाथ मन्दिर क्षेत्रमा फूलले सजावट गर्ने काम भइरहेको हो।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलन थापाका अनुसार पशुपतिनाथ मन्दिरको मुख्यस्थललाई रङरोगन गर्न थालिएको तथा बत्तीले सजाउने काम सुरु गरिएको छ । यसैगरी पशुपति क्षेत्रका भित्तामा रङरोगन लगाउने तथा भत्किएका सिडी मर्मत गर्ने कार्य सुरु भएको सदस्य सचिव डा( थापाले बताए।

यसवर्ष पशुपतिनाथमा १० लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने अनुमान समितिले गरेको छ । पशुपतिनाथ क्षेत्रमा झकिझकाउ गरिन थालिए पनि शौचालयको अभावमा समस्या हुने स्वयं कोषका कर्मचारी बताउँछन्।

पशुपतिनाथ क्षेत्रमा फूलले सजावट गर्ने कार्यका लागि कम्तीमा पनि रू २० लाख खर्च आउने अनुमान गरिएको छ । यसैगरी यसवर्ष भगवान् पशुपतिनाथमा जगद्गुरु शङ्कराचार्य आउने भएपछि पशुपति क्षेत्रलाई झनै सुन्दर तथा झकिझकाउन गर्न थालिएको सदस्य सचिव डा. थापाले जानकारी दिनुभयो ।

उनका अनुसार जगद्गुरु शङ्कराचार्य आउँदो फागुन ४ गते पशुपतिनाथमा आउने तथा यहाँ प्रवचन गर्ने कार्यक्रम तय गरिएको छ । महाशिवरात्री आउन अझै समय भए पनि अहिले नै पशुपतिमा भक्तजनको निकै चहलपहल बढ्दै गएको छ । पशुपतिनाथमा छिमेकी मुलुक भारतबाट साधुहरु आउने क्रम बढेको बताइएको छ ।

पशुपतिनाथमा बत्तीसहित विभिन्न रङ्रोगनले सजावट गरिन थालेपछि अहिले यो क्षेत्र झनै मनमोहक र आकर्षक बनेको पशुपति क्षेत्र विकास कोषका सदस्य पूर्णसङ्गम जेठाराले जानकारी दिए।

प्रकाशित मिति: १८:३९ बजे, शनिबार, माघ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्