Kathmandu Press

विशिष्टको सवारीमा नागरिकलाई असुविधा पुर्‍याउन नपाउने प्रोटोकल बनाऔं : गगन थापा

राष्ट्रपति व्यक्ति नभई संस्था भएकाले अनावश्यक प्रोटोकलका कारण यसप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको उनले बताएका छन्।
विशिष्टको सवारीमा नागरिकलाई असुविधा पुर्‍याउन नपाउने प्रोटोकल बनाऔं : गगन थापा

काठमाडौं, माघ २८ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशिष्ट व्यक्तिको सवारी हुँदा नागरिकलाई कुनै असुविधा पुर्‍याउन नपाउने गरी नयाँ प्रोटोकल बनाउनुपर्नेमा जोड दिएका छन्।

शुक्रबार संघीय संसदको संयुक्त सदनलाई सम्बोधनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी जाने र पछि फर्कने क्रममा भएको सवारी जामका कारण सर्वसाधारणले ठुलो सास्ती बेहोर्नुपरेको र ट्रमा सेन्टरका चिकित्सकमाथि प्रहरीले हातपात गरेकोप्रति चौतर्फी विरोध भइरहेका बेला उनले आज (शनिबार) सामाजिक सञ्जालमार्फत यस्तो धारणा व्यक्त गरेका हुन्। 

‘विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदलौं,’ उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पुर्‍याउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लंघन गर्न नपाउने व्यवस्था गरौँ र कार्यान्वयन गरौं।’

उनले शुक्रबार राष्ट्रपतिको सवारीमा क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद भएको बताउँदै दोषीलाई कारबाहीका मागमा सरकारबाट तत्काल सुनुवाइ हुनुपर्ने बताएका छन्।

विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास ‘परम्परा’ चलिरहेको बताउँदै उनले भनेका छन्, ‘यो शैलीप्रति हरेक पटक हामी आक्रोश पोख्छौ अनि बिर्सिन्छौँ। यो पटक पनि त्यस्तै हुन्छ। तर यस्तो दोहोरिन नदिने हो भने केही काम गर्नुपर्नेछ।’  

उनले लेखेका छन्, ‘निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरि अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ। म आफ्नो ठाउँबाट यसका लागि सक्दो पहलकदमी लिनेछु र पालन गर्नेगराउने कुरामा प्रतिबद्ध रहनेछु।’

राष्ट्रपति व्यक्ति नभई संस्था भएकाले अनावश्यक प्रोटोकलका कारण यसप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको उनले बताएका छन्। ‘यसको एउटा कारण तामझामवाला शैली हो।संस्थालाई सम्मानित र मर्यादित बनाउन नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौं,’ उनले लेखेका छन्।

प्रकाशित मिति: १४:०७ बजे, शनिबार, माघ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्