सर्लाहीमा सीमा अनुगमन
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमसखलगायतको टोलीले सीमा क्षेत्रको अनुगमन गरेको हो।
सर्लाही, माघ २८ : सर्लाहीमा सीमा अनुगमन तीव्र पारिएको छ। अतिक्रमण हटाउने उद्देश्यले नेपाल–भारत सीमा नाकामा अनुगमन थालिएको हो।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमसखलगायतको टोलीले सीमा क्षेत्रको अनुगमन गरेको हो।
अनुगमन टोलीमा प्रजिअ यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी बलका उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सन्तोष ढुङ्गेललगायत रहेका थिए।
सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीका अनुसार पूर्वी नाका पर्सा गाउँपालिकास्थित सङ्ग्रामपुरदेखि खुटौनासम्म सीमा क्षेत्रको अनुगमन गरिएको हो।
खुटौनाबाट पश्चिम मधुवनी, छतौना, बारा उद्योरण, बलरालगायत नाकाको अनुगमन गर्न बाँकी छ। 'नेपाल–भारत सीमामा रहेका ठूला तथा साना पिल्लरको अवस्था बुझ्न तथा सीमामा भएका अतिक्रमण हटाउन अनुगमन गर्न थालेका हौँ', उनले भने।
दशगजा क्षेत्रमा कुनै प्रकारको संरचना बनाउन नपाइने भए पनि जिल्लासित जोडिएको ५१ किलोमिटर खुला सिमानामा ठाउँ ठाउँमा बस्ती बस्नुका साथै पसल राखेर व्यापार व्यवसाय गर्ने गरिएको पाइएको छ।











