बढ्यो बसाइँसराइ
वालिङका मेयर कृष्ण खाँण भन्छन्- वालिङमा अन्यत्रबाट बसाई सरेर आउनेभन्दा जानेको सङ्ख्या धेरै हुनु पक्कै पनि हाम्रा लागि राम्रो होइन, बसाइँसराइका कारण के के हुन् पहिचान गरी कमी कमजोरीलाई सुधार्दै अगाडि बढ्छौं ।
स्याङ्जा, माघ २८ : स्याङ्जाको वालिङ नगरपालिकाबाट बसाई सरेर अन्यत्र जानेको सङ्ख्या बढेको छ।
गत वैशाख यता वालिङबाट ७ सय ७२ घरधुरी बसाई सरेर छन्। उक्त घरधुरीका २ हजार २ सय ९८ जना बसाई सरेको नगरपालिकाले जनाएको छ।
वि. सं. २०७८ मा वालिङबाट २ सय ४६ घरधुरीका ९ सय ४४ जना बसाई सरेर अन्यत्र गएका छन्। यो वर्ष त्यो संख्या दोब्बर भन्दा पनि बढी छ।
बसाई सरेर आउनेभन्दा जानेको सङ्ख्या बर्सेनि बढ्दो क्रममा छ । गत वर्ष १ सय १६ घरधुरीका ४ सय ३७ जना र २०७९ को हालसम्म २ सय ९४ घरधुरीका १ हजार १ सय १६ जना बसाई सरी आएका तथ्यांक नगरपालिकासँग छ।
१४ वडा रहेको वालिङ नगरपालिकाका केही वडामा बजार विस्तार भइरहेको छ । केही वडा ग्रामीण र विकट छन् । ग्रामीण भेगका वडाबाट बजारतिर बसाई सर्ने क्रम बढ्दै गएको छ । बजारबाट अझै ठूला सहरमा बसाइँसराइ गर्नेको सङ्ख्या पनि उत्तिकै छ ।
यस वर्ष ग्रामीण वडाका रुपमा रहेको वालिङ १२ बाट १ सय ४३ घरधुरीका ५ सय ७९, वडा नं १४ बाट १ सय ३६ घरधुरीका ४ सय ९९ जना बसाई सरेर गए । यसवर्ष सबैभन्दा थोरै वडा नं ३ बाट २८ घरधुरीका ८८ जना बसाई सरे ।
वि. सं २०७८ मा वडा नं. १४ का ३८ र १२ का ३६ घरधुरी बसाई सरेर गए । १२ बाट एक सय ५३ जना र १४ बाट एक सय ४९ जना बसाई सरेका छन्।
स्थानीयस्तरमा रोजगारी, उच्च शिक्षा, स्वास्थ्य तथा लगानीजस्ता विषयलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई बताउँछन्।
ग्रामीण भेगबाट स्वास्थ्य, शिक्षा, रोजगारी, व्यापार व्यवसायका लागि बजार आउने क्रम बढ्दो रहेकाले स्थानीयस्तरमै रोजगारीको अवसर सिर्जना गर्ने, प्राविधिक शिक्षालय सञ्चालन गर्ने, सुविधासम्पन्न मेडिकल कलेज, यही लगानी गर्ने वातावरण कसरी निर्माण गर्न सकिन्छ त्यतापट्टि ध्यान दिनुपर्ने धारणा उनको छ ।
वालिङबाट मानिस अन्यत्र बसाई सरेर जानुलाई आफूले गम्भीर रुपमा लिएको नगर प्रमुख कृष्ण खाँणले बताउँछन्। ‘वालिङमा अन्यत्रबाट बसाई सरेर आउनेभन्दा जानेको सङ्ख्या धेरै हुनु पक्कै पनि हाम्रा लागि राम्रो होइन’, उनले भने, ‘बसाइँसराइका कारण के के हुन् पहिचान गरी कमी कमजोरीलाई सुधार्दै अगाडि बढ्छौं ।’
पछिल्लो समय आर्थिक सम्पन्नताका कारण पनि केही मानिस ठूला सहरमा शिक्षादीक्षा, स्वास्थ्य उपचार, रोजगारी, व्यापार व्यवसायका लागि जाने चलन बढेको उनी बताउँछन्।
बसिरहेको ठाउँ आफू अनुकूल नहुनु, परिस्थिति फेरिनु, सोचेजस्तो नहुनु, आफन्त इष्टमित्र जता धेरै हुनुहुन्छ उतै बसाई जानु, स्वास्थ्य, शिक्षा, रोजगारी, व्यापार व्यवसायजस्ता सामाजिक तथा व्यक्तिगत कारणले मानिस पहुँच पुग्ने ठाउँमा बसाई सरेर जाने गरेका छन्।



-1785310167.jpg)




-1785310167.jpg)


