संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारी

काठमाडाैं, माघ २७ : राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसद भवन नयाँ बानेश्वरमा संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन्।
शुक्रबार अपरान्ह ३ बजे राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
राष्ट्रपतिले गर्ने सम्बोधन प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै टेबल गर्नेछन्।
त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए।
गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो अधिवेशन जारी छ। पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन्।
राष्ट्रपति भण्डारीले शनिबार अपरान्ह ३ बजे नवनिर्वाचित सांसदहरूको सम्मानमा राष्ट्रपति कार्यालय शीतल निवासमा चियापानको आयोजना पनि गरेकी छन्।
राष्ट्रपति भण्डारीको कार्यकाल सकिन लागेको छ। नयाँ राष्ट्रपति चयन गर्न फागुन २५ गते चुनाव हुँदैछ।











-1785310167.jpg)