Kathmandu Press

एक महिनामै ढल्यो एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार 

मुख्यमन्त्री राजेन्द्र रावलले प्रदेशसभाको विश्वास छ भनी पेस गरको प्रस्ताव छलफलमै नगई बहुमतले अस्वीकार गरेको छ ।
एक महिनामै ढल्यो एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार 

काठमाडाैं, माघ २६ : एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । 

बिहीबार उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकार गरेपछि उनी स्वतः पदमुक्त भएका हुन् । 

आफूलाई प्रदेश सभाको विश्वास छ भनी मुख्यमन्त्रीले राखेको प्रस्ताव छलफलका लागि निर्णयार्थ पेस गर्दा बहुमत सांसदहरु उक्त प्रस्तावको विपक्षमा उभिएका हुन् । 

आजको बैठकमा नागरिक उन्मुक्ति पार्टीका सात सांसद अनुपस्थित थिए । मुख्यमन्त्री बन्न सहयोग गरेको दलबाटै समर्थन नपाएपछि एक महिनामै एमाले नेतृत्वको प्रदेश सरकार ढलेको हो । 

एमालेका रावल पुस २७ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । आफ्नो दलका १० सांसद, माअ‍ोवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाको १ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए । तर,विश्वासको मत दिने बेलामा नागरिक उन्मुक्तिले हात झिकेपछि एमाले प्रदेश सरकारबाट बाहिरिएको हो । 

अब संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेतालाई प्रदेशप्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् । यसअनुसार नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्नेछन् । तर, उनले पनि तीस दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । 

 

प्रकाशित मिति: १७:३२ बजे, बिहीबार, माघ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्