Kathmandu Press

सुदूरपश्चिम प्रदेशसभाको बैठक ४ बजे बस्दै

सुदूरपश्चिम प्रदेशसभाको बैठक ४ बजे बस्दै

काठमाडौं, माघ २६ : सुदूरपश्चिम प्रदेशको आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभाको बैठक आजै अपराह्न ४ बजे बस्ने गरी सारिएको छ। 
  
प्रदेशसभा सचिवालयले टाँस गरेको सूचनामा आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुखको निर्देशनमा अपराह्न ४ बजे बस्ने गरी सारिएको जनाइएको छ । यसअघि हिजो बुधबार बोलाइएको बैठक पनि स्थगन गरेर आज १ बजेका लागि बोलाइएको थियो ।
 
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेशसभाबाट विश्वासको मत लिने अन्तिम दिन हो ।  प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता रावल गत पुस २७ गते संविधानको धारा १६८(२) बमोजिम एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपासहित प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। 
 
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले आज विश्वासको मत लिई सक्नुपर्छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ। 

सत्ता गठबन्धनमा निर्णायक शक्तिका रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभाका सदस्य विश्वासको मत दिने आधार नबनेको जनाउँदै अहिले पनि काठमाडौँमै रहनुभएको बताइएको छ  । यो सँगै मुख्यमन्त्रीलाई विश्वासको मत पाउन सकस भएको छ । नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाका बन्दी रिहाइको माग गर्दै आएको छ । 

प्रदेशसभामा सत्तापक्षीय नेकपा (एमाले)का दश, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक दश, नागरिक उन्मुक्तिका सात र राप्रापाका एक सदस्य छन्। विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का चार र एक स्वतन्त्र सदस्य छन्। 

प्रकाशित मिति: १४:३६ बजे, बिहीबार, माघ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्