Kathmandu Press

सन्दीपलाई विदेश भ्रमण रोक्न अदालतको पत्र गृहमा 

उच्च अदालत पाटनको गत पुस २९ गतेको आदेशअनुसार लामिछानेको पासपोर्ट रोक्न अदालतले लेखेको पत्र गत माघ २५ गते गृह मन्त्रालयमा दर्ता भएको छ।
सन्दीपलाई विदेश भ्रमण रोक्न अदालतको पत्र गृहमा 

काठमाडौं, माघ २६ : क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान वञ्चित गर्नेगरी पार्सपोर्ट रोक्का राख्न काठमाडौं जिल्ला अदालतले गृह मन्त्रालयमा परिपत्र गरेको छ। 

उच्च अदालत पाटनको गत पुस २९ गतेको आदेशअनुसार लामिछानेको पासपोर्ट रोक्न अदालतले लेखेको पत्र गत माघ २५ गते गृह मन्त्रालयमा दर्ता भएको छ।

काठमाडौ जिल्ला अदालत स्रोतका अनुसार लामिछानेको विदेश भ्रमण रोक्न भन्दै उच्च अदालतको फैसला अनुसार गृह मन्त्रालयलाई पत्र लेखिएको हो।

गृहमा दर्ता भएको काठमाडौ जिल्ला अदालतको पत्रमा लेखिएको छ, ‘प्रस्तुत मुद्दाका प्रतिवादी सन्दिप लामिछाने (राहदानी नं. बिए ०००७०४२) को राहदानी रोक्का राखि निज प्रतिवादी लामिछानेलाई नेपाल बाहिर जानबाट रोक्न लगाउनु हुन आदेशअनुसार अनुरोध छ।’

अदालतको पत्र अनुसार लामिछाने देश छाडेर बाहिर जान नपाउने भएका छन्। एक नावालिका किशोरीलाई बलात्कार अभियोग लागेका क्रिकेटर लामिछानेलाई उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको संयुक्त इजलासले २० लाख रुपैयाँ धरौटीमा तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो।

बलात्कार अभियोगमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएपछि सुरु अदालतको आदेश कानुन विपरित रहेको बताउँदै तारिखमा रिहा हुन पाउनुपर्ने माग सहित उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

सोही अपीलका आधारमा उनलाई तारिखमा राख्न २० लाख धरौटी रकम तोके पनि देश छाडेर विदेश जान भने रोक लगाइएको थियो। उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंमा फैसला हुन बाँकी छ। 
 

प्रकाशित मिति: १३:५६ बजे, बिहीबार, माघ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्