Kathmandu Press

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे बस्ने, सुदूरपश्चिम सरकारबारे छलफल हुने

सुदूरपश्चिम प्रदेश सरकारको विषयमा सत्ता साझेदार दलहरुबीच सहमति जुट्न सकेको छैन।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे बस्ने, सुदूरपश्चिम सरकारबारे छलफल हुने
फाइल तस्बिर

काठमाडौं, माघ २६ : एमाले अध्यक्ष केपी ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज (बिहीबार) दिउँसो ३ बजे बस्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सुदूरपश्चिम प्रदेश सरकारको विषयमा छलफल हुने जनाइएको छ।

संयन्त्रको बैठकको तयारीका लागि मंगलबार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो। सोही विषयमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रन्जिता श्रेष्ठसँग पनि ओलीले छलफल गरेका थिए।

सुदूरपश्चिम प्रदेश सरकारको विषयमा सत्ता साझेदार दलहरुबीच सहमति जुट्न सकेको छैन। सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभामा विश्वासको मत लिन आज १ बजेका लागि बोलाइएको बैठक पनि साँझ ५ बजेका लागि सरेको छ। 

रावलले विश्वासको मत लिने अन्तिम दिन हो। गत पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका रावलले विश्वासको मत लिन बुधबार बोलाइएको बैठक पनि स्थगित भएको थियो। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। 

सुदूरपश्चिममा विश्वासको मतका लागि नाउपा निर्णयक मानिएको छ। नाउपाका सात जना प्रदेशसभा सदस्य छन्। नाउपा रेशम चौधरीसहितका नेताहरुको रिहाइलाई पहिलो सर्तका रूपमा अगाडि सारेको छ। रेशमको रिहाइ नभएसम्म रावललाइृ मत नदिने नाउपाको अडान छ।

प्रकाशित मिति: १२:४६ बजे, बिहीबार, माघ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्