Kathmandu Press

सुदूरपश्चिममा सरकारले पूर्णता नपाउँदै मुख्यमन्त्री रावलकको पद संकटमा 

मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत लिन आज बेलुकी ५ बजेसम्मको समय छ। उनले आज विश्वासको मत लिन नसकेमा अर्को सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ ।
सुदूरपश्चिममा सरकारले पूर्णता नपाउँदै मुख्यमन्त्री रावलकको पद संकटमा 

काठमाडौं, माघ २६ : नागरिक उन्मुक्ति पार्टीको अडान कायमै रहेकाले सुदूरपश्चिम प्रदेश सरकार पूर्णता नपाउँदै सङ्कटमा परेको छ ।

मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत लिन आज बेलुकी ५ बजेसम्मको समय छ। उनले आज विश्वासको मत लिन नसकेमा अर्को सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ ।

संविधान बमोजिम मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । यस अवधिमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

नागरिक उन्मुक्ति पार्टीलाई सहमतिमा ल्याउन एमाले नेताहरुले लगातार प्रयास गरे पनि सफल हुन सकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो बेलुकी नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेताहरुसँग कुरा गरेका थिए । 

टीकापुर घटनाका आरोपमा जेल सजाय खेपिरहेका रेशम चौधरीसहितका नेतालाई रिहा गर्नुपर्ने नागरिक उन्मुक्ति पार्टीको अडान छ । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद छन् ।

नागरिक उन्मुक्ति पार्टीले गएको पुस २७ गते मुख्यमन्त्री नियुक्त हुँदा साथ दिएको थियो, सरकारलाई विश्वासको मत दिन पनि उसको साथ अनिवार्य चाहिन्छ । नागरिक उन्मुक्ति पार्टीको साथ नपाउने भएपछि हिजो बोलाइएको प्रदेश सभा बैठक स्थगित गरिएको थियो ।

आज दिउँसो १ बजे फेरि बैठक बोलाइएको छ । नागरिक उन्मुक्तिले विश्वासको मत नदिए कांग्रेसलाई ठूलो दलको हैसियतमा नयाँ सरकार बन्ने बाटो खुल्नेछ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ५ र राप्रपाका १ सांसद छन् । सरकार गठनको लागि कम्तीमा २७ सांसदको समर्थन चाहिन्छ ।
 

प्रकाशित मिति: ०७:१६ बजे, बिहीबार, माघ २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्