Kathmandu Press

टर्कीका भूकम्पपीडितलाई सहयाेग गर्न नेपालले स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री पठाउने

आज (बुधबार) दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको १०औं बैठकले त्यस्तो निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
टर्कीका भूकम्पपीडितलाई सहयाेग गर्न नेपालले स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री पठाउने

काठमाडौं, माघ २५ : विनाशकारी भूकम्पले आक्रान्त बनेको टर्कीका जनताको राहत र पुनःस्थापनाका लागि नेपाल सरकारले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ।

आज (बुधबार) दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको १०औं बैठकले त्यस्तो निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्की नेपालको मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव भएसम्मको सहयोग गर्नुपर्ने बताए। ‘टर्की हाम्रो असल मित्रराष्ट्र हो। हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको थियो। टर्की दुःखमा हुँदा हामीले पनि सहयोग गर्नुपर्छ,’ उनले भने,  ‘त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौं।’

बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिस्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको छ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापतिलगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्थित थिए।

सोमबार गएको भूकम्पमा परी टर्की र सिरियामा करिब ९ हजारको ज्यान गएको छ भने ठुलो भौतिक क्षति भएको छ।

प्रकाशित मिति: १६:०६ बजे, बुधबार, माघ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्