गगन थापाको प्रश्न : रास्वपालाई प्रश्न सोध्नै नहुने हो ?
‘सरकार छोड्दै गर्दा सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने होइन ? समर्थन फिर्ता किन नलिएको ? कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहीँ प्रश्न सोध्नै नहुने हो ?’ उनले भने ।
काठमाडौं, माघ २५ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारलाई दिएको समर्थन फिर्ता नलिनुको कारण सोधेका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले ‘नो नट अगेन’को नारा लिएर निर्वाचनमा गएको रास्वपा नो नट अगेन भनेकै नेताको नेतृत्वको सरकारमा गएको, फेरि सरकारबाट बाहिरिएको र समर्थन कायम राखिरहेकोबारे प्रश्न गरेका हुन् ।
उनले अरुभन्दा भिन्न छौं भनेको रास्वपाले व्यवहारमा भने त्यो नदेखाएको बताएका छन् । ‘...त्यस्तो भनेको पार्टी सरकारमा किन गएको ? सरकारमा किन गएको भनेर सोध्न नपाउने ? सरकारमा गएको पार्टी फेरि किन बाहिरिएको ? सरकारमा किन गएको र किन फिर्ता भएको पनि भन्न नपर्ने ?’ उनले भने ।
रास्वपाले सहमति पालना नभएको कारण देखाएपनि त्यसमा सत्यता नदेखिएको बताए । सहमति कसले पालना नगरेको ? प्रधानमन्त्रीले होइन? सबैभन्दा बढी प्रधानमन्त्रीसँग रिसाउनुपर्ने होइन,’ महामन्त्री थापाले प्रश्न गरे ।
रास्वपा सरकारबाट फिर्ता भएपनि समर्थन कायम गरिराखेकाले सो पार्टीमाथि विभिन्न प्रश्नहरु स्वाभाविक रुपमा उठ्ने महामन्त्री थापाले बताए । ‘सरकार छोड्दै गर्दा सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने होइन ? समर्थन फिर्ता किन नलिएको ? कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहीँ प्रश्न सोध्नै नहुने हो ?’ उनले भने ।
रास्वपाको पत्रकार सम्मेलन आफूले पनि हेरेको बताउँदै महामन्त्री थापाले नेपाली प्रेसले लोकतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । तर, नेपाली प्रेसले आफूलाई पनि एकपटक प्रश्न गर्नुपर्ने बेला आएको उनको भनाई छ । ‘प्रेस स्वतन्त्रताको कुरालाई ख्याल गर्नुपर्छ । ‘प्रेस स्वतन्त्रता असाध्यै महत्वपूर्ण कुरा हो । प्रेसको फिअर हामीलाई र हाम्रो फिअर प्रेसलाई हुनुहुँदैन,’ उनले भने ।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

