Kathmandu Press

पुस १० गते एमालेले छक्यायो, राष्ट्रपतिमा कांग्रेसले छक्याउँछ : गगन थापा 

उनले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बने कठपुतली राष्ट्रपति हुने दाबी गरे ।
पुस १० गते एमालेले छक्यायो, राष्ट्रपतिमा कांग्रेसले छक्याउँछ : गगन थापा 

काठमाडौं, माघ २५ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस १० गते एकाएक राजनीतिक परिदृश्य बदलिनुमा एमालेको छट्टुपन कारक रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले एमालेको झुक्यानमा पर्दा पुस १० गते क्षणभरमै सत्ता समिकरण बदलिएको बताएका हुन् । 

त्यसदिन एमाले अध्यक्ष ओलीले कांग्रेसलाई दिउँसो तीन बजे तयार भएर बस्न भनेको र यता माओवादीलाई पनि आश्वासन दिएकाले गठबन्धन टुटेको बताए ।  

‘नेपाली कांग्रेस एकछिनमा एमाले आउँछ भनेर दङ्ग परेर बसेकै हो । माओवादीका साथीहरु पनि ढुक्क भएर गएकै हो । अर्थात त्यो दिन नेकपा एमालेले छट्टु काम गरेकै हो । एमालेले छक्यायो । त्यसमा गालीगलौज गरेर के अर्थ, हामी छक्कियौं,’ उनले भने ।

महामन्त्री थापाले अब राष्ट्रपतिको निर्वाचनमा एमालेले प्रस्ताव गरेको उम्मेदवारलाई कांग्रेसले हराउने दाबी गरे । सार्वजनिक मञ्च र संसदबाट एमाले अध्यक्ष ओलीले बारबार राष्ट्रपतिमा आँखा नलगाउनु भन्ने अभिव्यक्ति दिँदै आएकोमा थापाले भने,‘ आँखा नलगाओ भनेका छन् । लगाउँछौँ, भोट नै माग्छौं । एमालेको उम्मेदवारलाई हराउन लाग्छौं।’

उनले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बने कठपुतली राष्ट्रपति हुने दाबी गरे । विगतको अनुभवबाट पनि यो कुरा प्रमाणित हुने उनको भनाई थियो । ‘त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ । संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्छ । कार्यकारी अधिकार बालुवाटार र शीतलनिवास दुबैले प्रयोग गर्छन् । दुई शक्ति ठोक्किँदा संविधानलाई दुर्घटनामा लैजान्छ,’ उनले भने। 

संविधानलाई दुर्घटना हुनबाट जोगाउन पनि एमालेको उम्मेदवारलाई हराउने महामन्त्री थापाले बताए।  
 

प्रकाशित मिति: १३:४४ बजे, बुधबार, माघ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्