यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्ती गर्न स्वीकृति दिने निर्णय गरेकाे छ ।
काठमाडौं, माघ २४ : सरकारले पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययनका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले पेट्रोलियम अन्वेषणका लागि जग्गा प्राप्ति गर्न स्विकृति दिने निर्णय भएको जानकारी दिएकी हुन् ।
यी हुन् सरकारका १० निर्णयः
१. पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्ती गर्न स्वीकृति दिने ।
२. बागमती बाँध आयोजना कार्यान्वयन गर्न काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा रहेको १४ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने ।
३. भारतमा आयोजना हुने नेपाल–भारत विद्युत व्यापार सम्झौता अन्तर्गतको संयुक्त कार्यसमूह तथा संयुक्त कार्यसमितिको दशौं बैठकमा भाग लिन उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने ।
४. सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ), निवारण तथा व्यवसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संसोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने ।
५. ०७९ फागुन १ गतेदेखि ५ गतेसम्म हुने भारत भ्रमणमा जान रक्षामन्त्रीलाई स्वीकृति दिने ।
६. सफा हिमाल अभियान–२०२३ मा खटिने नेपाली सेनाका सदस्यहरुलाई हिमाल आरोहण गर्न लाग्ने सलामी दस्तुर छुट दिने ।
७. डाक्टर दिपेन्द्ररमण सिंहलाई फागुन २९ गतेदेखि चैत्र २ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने फर्स्ट फेस टु फेस मिटिङमा सहभागी हुन स्वीकृति दिने ।
८. प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरी पुष्करलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्ने ।
९. महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता ढुकवर प्रसाद रिजाललाई राजपत्राङ्कित विशिष्ट श्रेणीको नायब महान्यायाधिवक्तामा बढुवा गरी महान्यायाधिवक्ताको कार्यालयमा पदस्थापन गर्ने ।
१०. विभिन्न मन्त्रालय अन्तर्गतका विभिन्न सेवा समूह, उपसमूह अन्तर्गतका राजपत्राङ्कित द्वितिय श्रेणीका २३ जना अधिकृतहरुलाई सम्बन्धित सेवा समूहका राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा बढुवा गर्ने ।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

