Kathmandu Press

महाभूकम्प : टर्की र सिरियामा नेपालीको अवस्था के छ ?

शक्तिशाली भूकम्पपछि सिरिया र टर्कीमा रहेका नेपालीहरुको अवस्था के छ भन्नेबारेमा अहिलेसम्म सरकारले कुनैपनि तथ्यांक सार्वजनिक गरेको छैन ।  
महाभूकम्प : टर्की र सिरियामा नेपालीको अवस्था के छ ?

काठमाडौं, माघ २४ : टर्की र सिरियाको सिमानालाई केन्द्रबिन्दु बनाई गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ४ हजारभन्दा बढी व्यक्तिहरुले ज्यान गुमाइसकेका छन् । भूकम्पका कारण ठूलोमात्रामा जनधन र भौतिक संरचनाको क्षति भएको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार टर्कीमा ७.८ रेक्टरस्केलको भूकम्पपछि ४५ भन्दा बढी पराकम्पको महशुश गरिएको छ । दोस्रा पराकम्प नै ७.५ म्याग्च्यिूडको रहेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । 

शक्तिशाली भूकम्पपछि सिरिया र टर्कीमा रहेका नेपालीहरुको अवस्था के छ भन्नेबारेमा अहिलेसम्म सरकारले कुनैपनि तथ्यांक सार्वजनिक गरेको छैन ।   नेपाली सरकारले वैधानिक रुपमा सिरिया र टर्की जान रोक लगाएको छ । तथापि गैरकानुनी हजारौंको संख्यामा ती देशमा नेपालीहरु पुगेको अनुमान गरिएको छ । 

टर्कीको समेत जिम्मेवारी पाएका इस्लामावादस्थित नेपाली राजदूत  तपस अधिकारीका अनुसार टर्कीमा तीन हजार देखि ३५ सय नेपाली नागरिक रहेका छन् । तर, भूकम्प गएको क्षेत्रमा खासै नेपाली नरहेको उनलाई उदृध गर्दै बीबीसीले उल्लेख गरेको छ । नेपालीहरु भूकम्पमा परेको खबर आफूले नपाएको राजदूत अधिकारीले बताएका छन् । 

‘टर्की र सिरियाको सिमाना नजिकै जुन स्थानमा भूकम्प गएको छ त्यहाँ नेपालीहरू हुनुहुन्न। हालसम्म कोही पनि नेपाली भूकम्पमा परेका छैनन् भन्ने जानकारी हामीले पाएका छौँ,’ राजदूत अधिकारीले बीबीसँग भनेका छन् । टर्कीमा नेपालीहरु मुख्य रूपमा अङ्कारा र इस्तानबुलमा बस्ने गरेका राजदूत अधिकारीले बताए।

इस्तानबुलमा रहेका गैर आवासीय नेपाली सङ्घ, टर्कीका महासचिव विनोद पौडेलका अनुसार भूकम्प प्रभावित क्षेत्रमा सीमित सङ्ख्यामा नेपालीहरू छन्। ‘त्यो सिरिया नजिकैको क्षेत्र हो। त्यसैले धेरै नेपाली छैनन्। हामीले केही साथीहरूसँग सम्पर्क गरेर त्यहाँ रहनु भएकाहरूको अवस्थाबारे बुझ्ने प्रयास गरिरहेका छौँ,’ उनले भने । 

सिरियालाई पनि हेर्ने जिम्मेवारी पाएको इजिप्टस्थित नेपाली राजदूत सुशील कुमार लम्सालले बीबीसँग भने, ‘सिरियामा हाम्रा एक जना कन्सुल हुनुहुन्छ। हामी उहाँसँग सम्पर्कमा रहेर त्यहाँको अवस्था नजिकबाट नियालिरहेका छौँ। अहिलेसम्म नेपाली परेका कुनै विवरण आएको छैन।’

परराष्ट्र मन्त्रालयका अधिकारीहरुले पनि टर्कीमा रहेका नेपालीहरुको यकिन तथ्यांक नरहेको बताएका छन् ।

-बीबीसीको सहयोगमा 

 

प्रकाशित मिति: १२:०५ बजे, मंगलबार, माघ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्