Kathmandu Press

मधेश प्रदेशमा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार, माओवादी सरकारमा सहभागी

नवनियुक्त मन्त्रिहरुले आज दिउँसो १ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
मधेश प्रदेशमा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार, माओवादी सरकारमा सहभागी

काठमाडौं, माघ २४ : नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारमा सहभागी भएको छ । 

यसअघि मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै माओवादी केन्द्रले सरकारमा जान अस्वीकार गर्दै आएको थियो । तर मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रलाई पनि सरकारमा ल्याएर तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । 

माओवादीले उद्योग, वन तथा पर्यटन मन्त्री र राज्यमन्त्री पाएको छ । माओवादीले मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई सरकारमा पठाएको छ । 

मंगलबार नै मन्त्रिपरिषद् विस्तारको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएको मुख्यमन्त्री यादव निकट स्रोतले जानकारी दिएको छ । नवनियुक्त मन्त्रिहरुले आज दिउँसो १ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

यससँगै मधेश प्रदेश सरकारले पूर्णता पाएको छ । यहाँ मुख्यमन्त्री, १० मन्त्री र चार राज्यमन्त्रीसहित मन्त्रिमण्डलको सदस्य संख्या १५ पुगेको छ ।  

सबैभन्दा ठूलो दल रहेको नेकपा एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालय, कानून न्याय तथा प्रदेश मामिला र महिला तथा बालबालिका, युवा तथा खेलकुदमन्त्रालयसहित चार मन्त्रालय पाएको छ ।

सत्ताको नेतृत्व गरेको जसपाले अर्थ, सामाजिक विकास र खाने पानी तथा ऊर्जा विकास मन्त्रालयसहित तीन मन्त्रालय पाइसकेका छन् ।

जनमतले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र शिक्षा विज्ञान प्रविधि तथा वाणिज्य मन्त्रयसहित दुई मन्त्रालय पाएको छ भने माओवादी केन्द्रले उद्योग वन तथा पर्यटन मन्त्रालय पाएका छन् ।

प्रकाशित मिति: १०:३७ बजे, मंगलबार, माघ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्