Kathmandu Press

बलात्कार अभियोगमा मनोज पाण्डेलाई सात वर्ष जेल

पीडित किशोरीलाई पिडकबाट ७५ हजार रुपैयाँ भराइने 
बलात्कार अभियोगमा मनोज पाण्डेलाई सात वर्ष जेल

काठमाडौं, माघ २३ : सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगसहित मुद्दा चलाइएका मनोज पाण्डेलाई काठमाडौं जिल्ला अदालतले सोमवार सात वर्ष कैद सजाय निर्धारण गरेको छ । 

अदालतले पीडित किशोरीलाई पाण्डेबाट ७५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय समेत  गरेको छ । पाण्डेलाई यसअघि मानव बेचबिखन तथा ओसार पसारको कसूरमा दोषी ठहर गरे पनि फौजदारी अपराध संहिता वमोजिम सजाय निर्धारण हुन बाँकी थियो । अदालतबाट पाण्डे बालयौन दुराचार र मानव बेचबिखनको कसूरदार ठहर भएका छन् । 

काठमाडौं जिल्ला न्यायाधीश दीपक ढकालको इजलसाले पाण्डेलाई दोषी ठहर गर्दै कैद र क्षतिपूर्ति भराउने निर्णय गरेको हो । यसअघि पनि पाण्डेलाई बालयौन दुव्र्यवहारमा ६ महिना कैद र ५० हजार जरिवानाको सजाय भइसकेको छ । 

एक सौन्दर्य प्रतियोगितामा भाग लिएकी एक नावालिक किशोरीलाई बलात्कार गरेको आरोप पाण्डेविरुद्ध थियो । आठ वर्षपछि आएर पीडित किशोरीले सामाजिक सञ्जालमार्फत उक्त घटना सार्वजनिक गरेपछि पाण्डेमाथि अनुसन्धान भएको थियो । अनुसन्धानबाट दोषी किटान गर्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: १७:५० बजे, सोमबार, माघ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्