Kathmandu Press

आमसञ्चारसम्बन्धी कानुनलाई छिट्टै मूर्तरुप दिन्छौं : मन्त्री शर्मा

आमसञ्चारसम्बन्धी कानुनलाई छिट्टै मूर्तरुप दिन्छौं : मन्त्री शर्मा

काठमाडौं, माघ २३ : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने बताएकी छन्।

नेपाल पत्रकार महासङ्घको आयोजनामा आज सञ्चारग्राममा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री शर्माले प्रविधिको विकाससँगै सञ्चार क्षेत्रको नियमन आवश्यक भइसेकेको भन्दै पुरानाका कानुनलाई प्रतिस्थापन गर्दै सरोकारवालाको प्रत्यक्ष सहभागितामा नयाँ कानुन निर्माण गरिने स्पष्ट पारिन्। 

उनले महासङ्घलगायत सरोकारवाला संस्थालाई सञ्चारक्षेत्रमा रहेका नीतिगत सुधारका लागि जतिसक्दो छिटो सुझाव दिन आग्रह गरिन्। उनले सोही आधारमा सुधार गरिदै लैजाने समेत प्रतिवद्धता व्यक्त गरिन्। 

उनले मुलुकको विकास र परिवर्तनका लागि आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताइन्। ‘राजनीति र पत्रकारिता अभिन्नरुपमा एक आपसमा जोडिएका छन् । राजनीति र पत्रकारिता जोडिएको थिएन भने देशमा ठूलाठूला परिवर्तन सम्भव पनि थिएन । देशमा भएका राजनीतिक परिवर्तनमा सहकार्य गरेर काँधमा काँध थापेर यहाँसम्म आएको हो,’ उनले भनिन्। 

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले संसदमा छलफल भएका र पाइपलाइनमा रहेका सञ्चारसम्बन्धी कानुनलाई पूर्णता दिन मन्त्री शर्मा समक्ष आग्रह गरिन् । सरकारले सञ्चारक्षेत्रलाई प्रदान गर्दैआएको सहुलियत सञ्चालकले मात्र नभई श्रमजीवी पत्रकारले पनि पाउनुपर्नेमा अध्यक्ष पोख्रेलले जोड दिइन्। 

आमसञ्चार प्रतिष्ठान, जेष्ठ पत्रकार सम्मान वृत्ति, मिडिया काउन्सिल विधेयकलगायत सञ्चारक्षेत्रको नीतिगत सुधारका लागि महासङ्घले दिएको सुझावका आधारमा निर्माण हुनुपर्नेमा उनको भनाइ थियो । 

प्रकाशित मिति: १५:१२ बजे, सोमबार, माघ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्