राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद मन्त्रालयले पारित गरी आएको पत्रलाई नेपाल क्रिकेट संघ (क्यान)लाई पठाइसकिएको जानकारी दिएको छ ।
काठमाडौं, माघ २३ : नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त भएका छन् ।
औपचारिक रुपमा नियुक्त हुन बाँकी रहेकै अवस्थामा देसाईले नेपाली क्रिकेट टिमलाई अनौपचारिक प्रशिक्षण दिइरहेका थिए । युवा तथा खेलकुद मन्त्रालयले लामो प्रक्रिया पूरा गरी देसाईलाई प्रमुख प्रशिक्षकमा नियुक्त गर्न बाटो खोलेको हो ।
राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद मन्त्रालयले पारित गरी आएको पत्रलाई नेपाल क्रिकेट संघ (क्यान)लाई पठाइसकिएको जानकारी दिएको छ । मन्त्रालयको पत्रसँगै अब देसाइले क्यानसँग सम्झौता गरी औपचारिक रुपमा प्रशिक्षण सुरु गर्नेछन्।
नेपाल क्रिकेट संघ क्यानको खेलाडी छनोट समितिले २४ पुसमा राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकका लागि आवेदन आह्वान गरेको थियो ।
भारतीय प्रशिक्षक मोन्टी देसाइ, नेपालकै पूर्व प्रशिक्षक अस्ट्रेलियाली डेभ ह्वाटमोर, श्रीलंकाका महान बलर धम्मिका प्रसाद, बंगलादेश क्रिकेट टिमका निवर्तमान प्रमुख प्रशिक्षक दक्षिण अफ्रिकी रसेल क्रेग डोमिंगो र न्युजिल्याण्ड टी–२० टिमका पूर्व प्रमुख प्रशिक्षक ग्लेन पोकनले आवेदन दिएका थिए।
एक साताको समयमा आवेदन दिएका २४ जनामध्येबाट सर्टलिष्टमा परेका ५ जनाको ४ माघमा अन्तर्वार्ता लिइएको थियो । अन्तरवार्तापछि क्यानको प्रशिक्षक छनोट समितिले मोन्टीको नाम सिफारिस गरेपछि कार्यसम्पादन समितिले निर्णय गरी ११ माघमा राखेपलाई सहमतिका लागि पठाएको थियो ।











