सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार : पत्रकार महासंघ

काठमाडाैं, माघ २२ : नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आइतबार दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएको छ । पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही रहेको आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको पनि महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै संसदको चौथो ठूलो दलका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेका व्यक्तिले सञ्चारक्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चारक्षेत्रमाथिको प्रहार भएको बताएका छन।
‘लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयं अध्यक्ष लमिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेमा महासंघ प्रष्ट पार्न चाहन्छ,’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ ।’
साथै, महासंघले सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्नसकिने प्रावधान हुँदाहुँदै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय कार्य भएको पनि बताएको छ ।
लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिको महासंघले कडा शब्दमा निन्दा गर्दै त्यसलाई फिर्ता लिइ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न पनि महासंघले माग गरेको छ ।










![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

