उहिल्यैको लुकिछिपी प्रेम
अहिले थुप्रै संचारका साधन छन् । इन्टरनेटले संसारलाई घरजस्तै बनाएको छ । घुमफिर र भेटघाटका लागि प्रशस्त ठाउँ छन् । ६० वर्ष अघिको कस्तो हुँदो हो ? त्यतिबेला प्रेम कसरी अभ....
अहिले थुप्रै संचारका साधन छन् । इन्टरनेटले संसारलाई घरजस्तै बनाएको छ । घुमफिर र भेटघाटका लागि प्रशस्त ठाउँ छन् । ६० वर्ष अघिको कस्तो हुँदो हो ? त्यतिबेला प्रेम कसरी अभिव्यक्त गरिन्थ्यो होला ?
“भेटघाट गर्न मुस्किल हुन्थ्यो,” ६ दशक अघि प्रेममा परेकी अछामको मेल्लेख गाउँपालिका–६ शोडशादेवीकी ७४ वर्षीया बुद्धीदेवी खड्का भन्छिन् । त्यतिबेला उनी आफूभन्दा एक वर्ष कान्छा बुद्धसिंह खड्कासँग प्रेममा परिन् । पाँच वर्ष लुकिछिपीमै विते । प्रेम जीवनको छैठौं वर्षमा बुद्धसँगै विहे पनि गरिन् ।
अहिले बिहे गरेको ५० वर्ष भयो । तर, उनीहरुको प्रेम रत्तिभर पनि खचमचिएको छैन् । “हाम्रो मायामा छलकपट थिएन् । स्वार्थ थिएन् । त्यसैले अहिलेसम्म मायामै छौं” बुद्धी भन्छिन् ।
बुद्धी र बुद्धको गाउँ फरकपरक थिए तर, नजिकै । उनी एक दिन दिदीको घर गएकी थिइन्, जहाँ बुद्धको पनि घर थियो । दिदीको देवर नाता पर्ने बुद्ध त बोलेका थिएन् तर, बुद्धीनै अघि सरिन् । “भिनाजु भन्दै मैले नै बोल्न शुरु गरेँ,” उनी पहिलो बोलचाल सम्झिन्छिन् ।
विस्तारै बोलचाल बढ्दै गयो । भेटघाट हुँदै गयो । गाउँमा लाग्ने मेलामा भेट्न थाले । कहिले काँही गोठालो जाँदा पनि भेटघाट हुन्थ्यो । “मन पराउन थालेको पत्तै भएनँ,” बुद्धी भन्छिन् । बुद्धले पनि मन पराउन थालेको चाल पाउन गाह्रो भएन् । त्यसपछि त लुकिछिपी भेटघाट बाक्लिन थाल्यो ।
दुवै लेखपढ गर्न जान्दैन्थे । त्यसैले चिठ्ठीको काम थिएन् । अहिलेजस्तो टेलिफोन पनि थिएन् । त्यसैले भेटघाट नै एकअर्काका भावना पोख्ने माध्यम बन्थ्यो । “भेट्नैका लागि भएपनि गाउँका मेला, जात्रामा जान्थ्यौं,” बुद्धी भन्छिन् । आफ्नो गाउँका त भयो नै घण्टौं हिडेर टाढाटाढाका गाउँका मेलामा पनि पुग्थे, उनीहरु ।
प्रेमसम्बन्ध कसिलो बन्दै गएपछि त उनीहरु घासदाउरा, गोठालो जाने बहना बनाउँथे, एकअर्कालाई भेटन् । सधै एउटौ जंगलमा गोठालो जाने कुरा हुदैन्थ्यो । वल्लोपल्लो गाउँको छुट्टाछुट्टै बनजंगल हुन्थे । जब जंगलमै एकअर्कालाई बोलाउनु प¥यो, त्यसपछि भने नयाँ जुक्ती निकाले थिए, उनीहरुले । “गाई, गोरु, बाख्राका नाम राखेका हुन्थे । भेट्न मन लाग्दा गाईगोरुलाई डाको लगाएर बोलाउँथ्यौ,” ति प्रेमिल दिन सम्झिदैँ बुद्धी भन्छिन्, “अरु गाईगोरुलाई नै बोलाएको होला भन्ने सोच्थे, हामीले थाहा पाइहाल्थ्यौ । एकअर्कालाई जंगलमै भेटघाट गरिहाल्थ्यौैं ।”
त्यसरी गरिएको भेटघाटमा अर्को एउटै जंगलमा गोठालो जाने वा घासदाउरा गर्न जाने तय गरिन्थ्यो । घरबाट निस्किँदा भने एउटा समय हुदैँन्थ्यो । जंगल आए÷नआएको पत्तो हुन्थ्यौं । त्यस्तो बेला पनि अर्को उपाया अपनाएका थिए । “जो अगाडि जंगल गयो, उसले हरियो पात बाटोमा राख्थ्यौं,” उनी भन्छिन्, “दोबाटोमा जुन बाटो गएको हो, त्यहीँ बाटोतिर पात फर्काएका हुन्थेँ ।”
यस्तै लुकिछिपि पाँच वर्ष प्रेमजीवनमा रमाएपछि बिहे गरेँ, बुद्धी र बुद्धले । खासमा उनीहरुका नाम पनि बुद्धी र बुद्ध थिएन् । बुद्धीको नाम सावित्री थियो भने बुद्धको नाम मनोज थियो । दुवै बुधबार जन्मिएका थिए । त्यसैले गाउँघरमा सावित्रीलाई बुद्धी भन्थे भने मनोजलाई बुद्ध । जब दुवै प्रेममा परे र बिहे गरे । त्यसपछि उनीहरुले आफ्नो खास नाम बिर्सिदिए । “किन फरकफरक नाम राख्नु नि ? दुवैले एउटै नाम राख्ने सोचेर बुद्धी र बुद्ध नै रोज्यौं,” बुद्धी भन्छिन् । र, उनीहरुको नेपाली नागरिकताको प्रमाणपत्रमा पनि त्यही छ, बुद्धी र बुद्ध ।
बुद्धी त बुद्धलाई जहिल्यै पनि प्रेम गर्थिन् । बुद्ध पनि आफूलाई कति धेरै प्रेम गर्छ भन्ने प्रमाण पेश गर्न उनले एउटा घटना सुनाइन् । जब २० वर्षको उमेरमा विहे भयो, २२ वर्षमा पहिलो सन्तान जन्मियो, छोराका रुपमा तर, ऊ बाँचेन् । त्यसपछि छोरी जन्मिइन, उनी पनि बाँचिनन् । चार सन्ता जन्मिदै मर्दै गएपछि परिवारले दुःख दिन थाले । “मलाई त सन्तान गुमाउँनुको पीडा थियो नै परिवारले पनि यसका बच्चा बाँच्ने होइनन् भन्दै झैझगडा गर्थे । अर्को बिहे गरौ भन्थे । तर, बुद्धले कहिल्यै नराम्रो गरेनन् । मेरै पक्ष लिए, मलाई नै साथ दिएँ,” बुद्धी भावुक भनिन् ।
त्यसपछि उनका ६ सन्तान जन्मिए । सबै ठीक छन् । अहिले दश नातिनातिनी छन् । रमाइलो परिवार छ र उनीहरु पनि रमाइरहेका छन् । बुद्धी भन्छिन, “उस्तै छौं । एकअर्कालाई उस्तै माया गर्छौं । जस्तो कि उहिल्यै गाउँले र आफन्तको आँखा छलेर लुकिछिपी माया गथ्यौं । हामी पो बुढा भयौं, माया त बुढो हुदैँन नि ।”