नेताले उपचारका नाममा राज्यबाट कराेडाैं खर्च लिने अवस्था राेकिनुपर्छ : धनराज गुरूङ
प्रतिनिधिसभाको आज (आइतबार) को बैठकमा विशेष समयमा बोल्दै उनले नेताहरूले भ्रष्ट प्रवृत्ति बदल्न नसकेसम्म मुलुक बदलिन नसक्ने र त्यसका लागि सबैकाे सोच बदलिन जरुरी रहेको बताए।
काठमाडाैं, माघ २२ : कांग्रेस सांसद धनराज गुरुङले नेताहरूको भ्रष्ट चरित्र नबदलिएसम्म मुलुक बदलिन नसक्ने बताएका छन्।
प्रतिनिधिसभाको आज (आइतबार) को बैठकमा विशेष समयमा बोल्दै उनले नेताहरूले भ्रष्ट प्रवृत्ति बदल्न नसकेसम्म मुलुक बदलिन नसक्ने र त्यसका लागि सबैकाे सोच बदलिन जरुरी रहेको बताए। कर्मशील, इमानदार, दृष्टिकोणसहितका नेता अभाव हुँदा जनताले दुःख पाइरहेको उनकाे भनाइ थियाे।
नेपालको व्यवस्था बदलिए पनि अवस्था बदलिन नसकेको प्रति उनले असन्तुष्टि जनाए। मुलुक भयानक आर्थिक संकटमा रहेको, व्यवसायीहरु धरापमा रहेको, उनीहरूले आत्महत्या र आत्मदाह गर्दा पनि त्यसले सरकारलाई नछोएको भन्दै उनले चिन्ता व्यक्त गरे। नेताहरूले सपना बाँडेर, गफ मात्र गरेर नहुनेमा उनले जोड दिए। उनले जनताको आवाज बोल्नुपर्ने संसद घोचपेच र दाउपेचमा केन्द्रित बनेकोप्रति पनि दुःख व्यक्त गरे।
गफ गर्न छाडेर काम गरेर देखाउनुपर्ने बताउँदै उनले प्रमाणित गरे वाचा गर्नुनपर्ने भए पिन सबै ठीक उल्टो दिशामा अघि बढिरहेको उनले बताए। ४५-५० वर्षअघि मलेसिया अहिलेको नेपालजस्तै भए पनि महाथिर महम्मदको नेतृत्वमा देश विकसित बनेको र त्यहाँ अहिले नेपालले कामदार पठाइरहेको उनले बताए। दक्षिण कोरिया ६०-६५ अघि नेपालजस्तै भए पनि एउटा इमानदार नेताको उदयले मुलुकको रुपान्तरण भएको र त्यहाँ पनि नेपालले कामदार पठाइरहेको उनले बताए। लि क्वान युका कारण सिंगापुर ६५-७० वर्षको अहन्तरालमा अकल्पनीय परिवर्तन गरेको पनि उनले बताए।
अब नेपालका नेताहरूको आँखा खुल्नै बताउँदै उनले मन्त्री–प्रधानमन्त्री पदकै लागि छिनाझप्टी गरिरहे देशको विकास हुन नसक्नेृ जनताले दुःख पाउने धारणा उनले राखे। यसपालि नयाँ सांसद आउँदा आशा जागे पनि अन्ततः जुन जोगी आए पनि कानै चिरेको अवस्था आएको अर्थात् नयाँ पनि ‘उही ड्याङका मुला’जस्तै भएको उनले बताए।
गरिब नेपालीले सिटामोल नपाउने, उपचार खर्च नपाएर अस्पतालबाट फर्किनुपर्ने, उपचार खर्चका लागि पालिकाको सिफारिस लिनुपर्ने तर नेताहरुले बिरामी हुँदा गरिब जनताले तिरेको राजस्वबाट बिनासिफारिस लाखौंकरोडौं खर्च लिएर उपचारका लागि विदेश जाने अवस्था रहेको उल्लेख गर्दै उनले यस्तै प्रवृत्तिबाट नेपालको कहिल्यै उन्नति हुन नसकेको तर्क गरे।
भ्रष्टाचारविरुद्धका ठुलाठुला कुरा गर्ने तर भ्रष्टाचारीमाथि शून्य सहनशीलता कुरा गर्ने अवस्था रहेको बताए। उनले नैतिक पतन देखिने कार्य गर्नु पनि भ्रष्टाचार भएकाे औंल्याउँदै उनले त्यस्ता कार्य राेकिन नसकेकाे स्पष्ट पारे।
नेताले समस्या मात्र देखाउने नभई समाधान पनि दिन सक्नुपर्ने तर्क पनि उनले गरे। समाधानतर्फ नेताहरू उद्यत् नहुँदा भयानक आर्थिक संकट आएको र यो संकट साझा समस्या भएको भनेर समाधान खोज्न नेपाली कांग्रेसले वर्तमान सरकारलाई प्रतिपक्षमा बसेर विश्वासको मत दिएको तर त्यो सत्तापक्षका नेताहरूका लागि टाउको दुखायको विषय बनेको उनले बताए।
मुलुकको समस्यासँग जुध्न सत्तापक्ष र प्रतिपक्ष भन्नु नहुने मान्यता राखेर कांग्रेसले दिएको विश्वासको मतलाई पदलोलुपता नठान्न उनले सदनलाई जानकारी गराए। उनले करोडौंको काठ विदेशबाट ल्याउने तर आफ्नो देशको काठ कुहाउने कार्य ठकि नभएको उनले बताए। सय वर्षका सबै काठ वनबाट निकाल्न उनले सरकारलाई सुझाए। त्यसबाट १८ देखि २० खर्ब आम्दानी हुने र देशको आर्थिक संकट टार्न सअज हुने उनको भनाइ थियो।
किसानले तरकारी सडकमा फाल्नुपर्ने तर विदेशबाट ल्याउने तरकारी नेपालीको भान्सामा पाक्ने स्थिति सच्चिनुपर्नेमा उनले जोड दिए। यसका लागि सरकारले स्थानीय तहको परिचालन गरेर किसानलाई न्याय दिनुपर्ने बताए। विदेशी मदिरा चोरबाटोबाट आउने मात्र भोजभतेरमा विदेशी मदिरा चल्ने तर स्थानीय तहमा उत्पादित मदिरा पोखाउने कार्य भइरहेको उनले बताए। मदिरामा राजस्व स्वाहा पार्नुको सट्टा स्थानीय मदिरालाई करको दायरामा ल्याएर आर्थिक संकलनको बाट तय गर्नुपर्नेमा उनले सुझा दिए।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

