श्रममन्त्री यादवको ९० दिने कार्ययोजना : ६० हजार बेरोजगारलाई न्यूनतम सय दिनको रोजगारी
काठमाडौं, पुस २२ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आफ्नो तीन महिने कार्ययोजना सार्वजनिक गरेका छन्।
....

काठमाडौं, पुस २२ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आफ्नो तीन महिने कार्ययोजना सार्वजनिक गरेका छन्।
मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी श्रममन्त्री यादवले ६० हजार बेरोजगारलाई सय दिनको रोजगारी दिनेसहितका कार्ययोजना सार्वजनिक गरेका हुन्।
मन्त्री यादवले चालु आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई न्यूनतम सय दिनको रोजगारी प्रदान गर्ने गरी स्थानीय तहरुबाट रोजगार आयोजना सञ्चालनमा ल्याउने बताए।
उनले स्थानीय तहहरुबाट सञ्चालन हुने रोजगार आयोजनाहरुको प्रभावकारीरुपमा अनुगमन गरिने पनि बताए। उनका अनुसार संघ तथा सातै प्रदेशमा रोजगारीका सम्भावनाहरुको पहिचान गर्न अध्ययन पनि गरिने छ।
मन्त्री यादवले आगामी तीन महिनामा १५ हजार रोजगारदाता र थप एक लाख योगदानकर्तालाई योगदानमा आधारित सुरक्षा योजनामा आबद्ध गराउने बताए। यस्तै, राष्ट्रिय आप्रवासन स्रोत केन्द्रमार्फत ३९ जिल्लामा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना तथा परामर्श सोव प्रदान गर्ने पनि मन्त्री यादवको योजना छ।
यस्तै, थप दश हजार जनालाई लक्षित गरी वैदेशिक रोजगार बोर्डबाट निःशुल्क सीप तालिम पनि दिइने छ। मन्त्री यादवले वैदेशिक रोजगारीको सिलसिलामा अंगभंग भएका र मृत्यु भएका व्यक्तिका हकवालाले स्थानीय स्तरबाटै सुविधा पाउने व्यवस्था गरिने समेत बताए।
कृषि क्षेत्रमा रहेका श्रमिकहरुको अवस्था पहिचान गरी उनीहरुको हक-हित प्रवद्र्धन एवम् उनीहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने विधि तथा प्रक्रियाका सम्बन्धमा अध्ययन गर्ने पनि मन्त्री यादवको कार्ययोजनामा उल्लेख छ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारमा खटिने श्रमिकहरुको दुर्घटना बीमा गरिने कार्ययोजनामा उल्लेख छ। प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गत आर्थिक वर्षमा १ लाख ७५ हजार ९ सय ९ जनाले रोजगारी पाएका थिए। ७ सय ५३ वटै स्थानीय तहमा सञ्चालन भएको कार्यक्रममा पारिश्रमिकबापत कुल २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ बजेट खर्च भएको थियो।
विश्व बैंकले प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि कुल १३ अर्ब ६८ करोड सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । त्यस्तै, सरकारले चालू आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ५ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको थियो।











