Kathmandu Press

भत्किएका छाउगोठभित्र नभत्किएका मन

जाजरकोट, पुस २२ : जुनिचाँदे गाउँपालिका–८ की सुमित्रा खड्कालाई छाउगोठ भत्काउने खबर सुन्दा असाध्यै खुशी लागेको छ।

पुस्ता हस्तान्तरण जस्त....

भत्किएका छाउगोठभित्र नभत्किएका मन

जाजरकोट, पुस २२ : जुनिचाँदे गाउँपालिका–८ की सुमित्रा खड्कालाई छाउगोठ भत्काउने खबर सुन्दा असाध्यै खुशी लागेको छ।

पुस्ता हस्तान्तरण जस्तै गरी कुसंस्कार सर्दै आएको छ। अहिले सुमित्रा जस्तै गाउँका अधिकांश महिला छाउगोठ भत्काएर विगतको कुसंस्कारलाई सधैँका लागि अन्त्य गर्ने योजनामा छन्।

गाउँमा पढेलेखेका युवा यो अभियानमा लागे पनि अघिल्लो पुस्ता भने छाउगाठ भत्काउने अभियानमा सक्रियताका साथ सहभागी भएको देखिएको छैन। अघिल्लो पुस्ताले अझै देवता रिसाउने र अनिष्ट हुने भन्दै झिना स्वर उठाउँदै आएका छन्।

शिक्षित परिवारकै घरमा छाउगोठ भत्काइए पनि घरभित्रको  चुलो पूजास्थलमा भने महिनावारी हुँदा जान पाइँदैन। ‘शिक्षकले विद्यालयमा छाउलाई कुप्रथा भन्दै कक्षाकोठामा पढाउँछन् तर घरमा जाँदा छोरी, बुहारी र श्रीमतीलाई महिनावारी हुँदा सात दिनसम्म मूल कोठाको प्रवेशमा रोक लगाउँछन्, अनि कसरी हुन्छ परिवर्तन?’ जुनिचाँदे–७ का रामबहादुर खड्काले भने।

आत्मदेखि हाम्रा सोच, विचार र संस्कारहरु बदल्न जरुरी रहेको उनको भनाइ छ। ‘शिक्षक आफैं धामी छ, दैनिक छिमेकीको घरमा देवता निकालेर बिरामीलाई भूत, प्रेत र बोक्सी लागेको भन्दै हिँड्छ, यसरी कसरी कुप्रथा हट्छ?’ उनले भने।

जिल्ला प्रशासन कार्यालयले छाउ बस्ने र बस्न बाध्य पार्नेलाई सरकारी सेवासुविधा रोक्ने भन्दै सदरमुकाममा प्रचार गरे पनि त्यो सूचना गाउँगाउँमा पुग्न सकेको छैन। छाउगोठ भत्काउन शुरु गरिए पनि मानिसभित्र रहेको चेतना परिवर्तन नभएसम्म महिनावारी हुँदा भान्सा बस्न नपाउने तथा दूध, दही, मही, घ्यू खान नपाउने अवस्था ज्यूँका त्यूँ रहन्छ।

अहिले पनि छाउगोठ भत्किए तर नागरिकका चेतना परिवर्तनका लागि भत्किएका छैनन्। अहिले पनि महिलाले दुःख पाइरहेका छन् । जिल्लाका अन्य ठाउँमा छाउगोठ नभए पनि महिनावारी हुँदा आगो बाल्ने चुलोसम्म जान नपाउने अवस्था विद्यमान छ।

देवता रिसाउने भन्दै मूल चुलो भएको कोठा र देवताका ध्वजा, पताका भएको ठाउँमा महिनावारी भएको समयमा जान नपाउने अवस्था निरन्तर चलिरहेको डोल्पा मुड्केचुला गाउँपालिका–८ का विष्णु सिंहले बताए। ‘सदरमुकाममा हल्ला गर्दैमा ग्रामीण क्षेत्रमा सबै परिवर्तन हुँदैन, हाम्रो ठाउँमा कसले सचेतनाका कार्यक्रम गर्छ र सबैले थाहा पाऊन्?’ उनले भने। उनीजस्तै अधिकांश गाउँका महिला पुरुषका कारण हेपिएका छन्।

उनीहरुले सामाजिक कुसंस्कारका रुपमा रहेको परम्परालाई तोड्न खोज्दा अलच्छिना भनेर पगरी गुथाई अपहेलना गरिएको पञ्च भयार मावि नलगाड नगरपालिका–८ की शिक्षिका नन्दा शाहीले बताइन। ‘परम्पराका नाममा ठूलो ज्यादती रहेको छ, गोठ भत्काएको खबर त सुनियो तर मनमा विगतदेखि पत्थर भएर बसेको परम्परालाई मनबाट हटाउन जरुरी छ,’ उनले भनिन्।

राज्यको मात्र दायित्व नभई सबै सचेत नागरिकले समाजमा भएका गलत मान्यतालाई हटाउनका लागि सङ्गठित भएर लाग्नुपर्ने नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए। उका अनुसार जनयुद्धमा समेत यस्ता खालका विकृति हटाउने सबै खालका कारवाही गरिएको थियो, सो समयमा छाउगोठ बस्ने, छुवाछूत व्यवहार हटाउनका लागि जनकारवाहीसम्म गर्ने गरी यसको न्यूनीकरण गरिएको थियो।

उनले अहिले समाज खुला भएकाले जसले जे गरे पनि मतलब नभएको गुनासो गरे। ‘कुसंस्कारको विरुद्धमा बोल्ने सबैजना सङ्गठित भएर गलत संस्कारका विरुद्ध एक जुट भई लागे यस्ता खालका गतिविधि शून्यमा झार्न सकिन्छ,’ उनले भने।

जाजरकोट र  डोल्पाका अधिकांश गाउँमा अहिले पनि सञ्चारमाध्यमको पहुँच नहुँदा त्यहाँ सचेतनाका कार्यक्रमले छुन सकेको छैन। (रासस)

प्रकाशित मिति: १४:०१ बजे, मंगलबार, पुस २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्