Kathmandu Press

बलात्कार अभियोग लागेकालाई उन्मुक्ति ग्राह्य हुन्न : उपसभापति खड्का

क्यानले सन्दीपलाई टिममा फर्काएपछि कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विरोध जनाइसकेका छन्। 
बलात्कार अभियोग लागेकालाई उन्मुक्ति ग्राह्य हुन्न : उपसभापति खड्का

काठमाडौं, माघ २१ : कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बलात्कारको अभियोग लागेका व्यक्तिलाई उन्मुक्ति दिने कुरा ग्राह्य हुन नसक्नने बताएका छन्। लोकप्रिय भएको वा कुनै नाममा उन्मुक्ति दिन नपाइने पनि उनले बताएका छन्। 

क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिममा सहभागी गराएको सन्दर्भलाई इंगित गर्दै आज (शनिबार) सामाजिक सञ्जालमार्फत उनले त्यस्तो बताएका हुन्।

‘कोही नेता लोकप्रिय होलान्, कोही कलाकार लोकप्रिय होलान्, कोही खेलाडी लोकप्रिय होलान्,  यो बेग्लै कुरा हो,’ खड्काले ट्विटरमा लेखेका छन्, ‘बलात्कारको अभियोग वा कुनै पनि अभियोग लागेको व्यक्तिलाई कुनै पनि खालको उन्मुक्ति दिने कुरा ग्राह्य हुन सक्तैन। सम्बन्धित संस्थाको तत्काल गम्भीर ध्यान जाओस्।’

क्यानले सन्दीपलाई टिममा फर्काएपछि कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विरोध जनाइसकेका छन्। 

क्यानको बोर्ड बैठकले बुधबार सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो। त्यसपछि सन्दीप राष्ट्रिय टिममा फर्किएका हुन्। एक नाबालिग किशोरीलाई बलात्कार गरेको अभियोग लागेका सन्दीपविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा  विचाराधीन छ।

यस विषयमा चौतर्फी विरोध भएको छ भने महान्यायाधिवक्ताको कार्यालयले पनि उनलाई थुनामै राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ।

सन्दीपलाई धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेश बदर गर्नुपर्ने मागसहित महान्यायाधिवक्ता कार्यालयले दिएको निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदनसमेत मागेको छ। लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटी लिएर रिहा गरेको थियो।

प्रकाशित मिति: १६:२३ बजे, शनिबार, माघ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्