Kathmandu Press

क्यानले सन्दीपलाई क्रिकेट टिममा फर्काएको विरोधमा प्रदर्शन

क्यानको बोर्ड बैठकले बुधबार सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो। त्यसपछि सन्दीप राष्ट्रिय टिममा फर्किएका हुन्।
क्यानले सन्दीपलाई क्रिकेट टिममा फर्काएको विरोधमा प्रदर्शन

काठमाडौं, माघ २१ : बलात्कार आरोपमा पक्राउ परेर ससर्त धरौटीमा छुटेका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले खेलमा फर्काएको विरोधमा आज (शनिबार) माइतीघरमा प्रदर्शन भएको छ।

प्रदर्शनमा उत्रिएका युवाहरुको एक समूहले बलात्कार आरोपी सन्दीप र उनलाई साथ दिने क्यान दुवैलाई बहिष्कार गर्नुपर्ने सन्देश दिने नारा लेखिएका प्लेकार्ड बोकेका थिए। मुद्दाको किनारा नलाग्दै क्यानले राष्ट्रिय टिममा समावेश गरी बन्द शिविरमा समेत राखेको भन्दै उनीहरूले विरोध गरेका छन्।

क्यानको बोर्ड बैठकले बुधबार सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो। त्यसपछि सन्दीप राष्ट्रिय टिममा फर्किएका हुन्।

एक नाबालिग किशाेरीलाई बलात्कार गरेको अभियोग लागेका सन्दीपविरुद्धकाे मुद्दा जिल्ला अदालत काठमाडौंमा  विचाराधीन छ।

यस विषयमा चाैतर्फी विराेध भएकाे छ भने महान्यायाधिवक्ताकाे कार्यालयले पनि उनलाई थुनामै राख्न माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गरेकाे छ।

सन्दीपलाई धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेश बदर गर्नुपर्ने मागसहित महान्यायाधिवक्ता कार्यालयले दिएको निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदनसमेत मागेको छ। लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटी लिएर रिहा गरेको थियो।

क्यानले सन्दीपलाई टिममा फर्काएपछि कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विरोध जनाएका छन्। 

प्रकाशित मिति: १५:०८ बजे, शनिबार, माघ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्