Kathmandu Press

आइएफआरसीका महासचिव चापागाईं नेपालमा 

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्टकक्षमा उनलाई आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले स्वागत गरे। 
आइएफआरसीका महासचिव चापागाईं नेपालमा 

काठमाडौं, माघ २१ : रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) का महासचिव जगन्नाथ चापागाईं चारदिने भ्रमणका लागि यहाँ आइपुगेका छन्।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्टकक्षमा उनलाई आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले स्वागत गरे। 

सन् २०१९ डिसेम्बर ३ मा २९ देश सहभागी ‘स्पेसल गभर्निङ बोर्ड’ को बैठकले चापागाईंलाई सर्वसम्मत रुपमा महासचिव पदमा चयन गरेको थियो।

सन् २०२० फेब्रुअरी १ देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्दै आएका उनले यसअघि सन् २०२२ फेब्रुअरी १ मा  नेपालको भ्रमण गरेका थिए। आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्ने चापागाईं पहिलो नेपाली हुन्।

महासचिव चापागाइँले सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्नका लागि विश्वव्यापि सहयोग  निरन्तर जारी रहेको बताए। 'विपद् तथा स्वास्थ्यसँग सम्बन्धित आपत्कालीन परिस्थिति पूर्व, परिस्थितिको अवधि तथा परिस्थिति पछाडि सङ्कटासन्न नागरिकका आवश्यकता पूर्ति गर्ने र उनीहरुको जीवनस्तरमा सुधार ल्याउने कार्य जारी छ', उनले भने। आइएफआरसी मानवीय सेवाका क्षेत्रमा कार्यरत सर्वोच्च परोपकारी संस्था हो।

भ्रमणका क्रममा महासचिव चापागाईंले आइएफआरसीको नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल र नेपाल रेडक्रस सोसाइटीले गरिरहेका मानवीय सेवाका गतिविधिबारे जानकारी लिने यहाँस्थित आइएफआरसीले जनाएको छ। उनी आइएफआरसीद्वारा नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गर्न लागिएका ३० नयाँ एम्बुलेन्स र १५  स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन्। 

साथै आइएफआरसीद्वारा प्रकाशित ‘ग्लोबल डिजास्टर रिपोर्ट’ सार्वजनिकीकरण कार्यक्रमलाई उनले सम्बोधन गर्नुहुने छ। भ्रमणका क्रममा चापागाईँले राजनीतिक नेतृत्वसँग समसामयिक विषयमा छलफलसमेत गर्नुहुने बताइएको छ।

आइएफआरसीले आफ्नो कार्यादेशअनुसार प्राकृतिक तथा मानव सिर्जित र जलवायु परिवर्तनले निम्त्याएका विपद् न्यूनीकरणमा निरन्तर मानवीय सहायता पुर्‍याउने गर्दछ।      

कोभिड–१९ बाट उत्पन्न विश्वव्यापि आर्थिक मन्दिका बाबाजुद पनि महासचिव चापागाईँले सङ्कटासन्न समुदायलाई मानवीय सहायता पुर्‍याउन निर्वाह गरेको कुशल नेतृत्वले आइएफआरसीका सदस्य देशमा प्रशंसा कमाएको छ। विश्वका १९२ देश आइएफआरसीका सदस्य छन्।

स्वीट्जरल्याण्डको जेनेभामा सचिवालय रहेको आइएफआरसीमा करिब एक करोड ५० लाख स्वयंसेवक सङ्गठित रहनुका साथै यसले सदस्य देशलाई स्थानीय रेडक्रस तथा रेडक्रिसेन्टका क्रियाकलापमा सहयोग गर्दै आएको छ।

प्रकाशित मिति: १३:५६ बजे, शनिबार, माघ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्