Kathmandu Press

माधव नेपालकाे नजरमा राजनीतिक दल : एमाले दक्षिणपन्थी, माओवादी अस्थिर, कांग्रेस लाेकतन्त्रमा प्रतिबद्ध

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई भने दर्शन, सिद्धान्त, विचार र कार्यदिशा स्पष्ट नभएको पुँजीपति वर्ग चरित्र बोकेको पार्टी भनी व्याख्या गरेका छन्।
माधव नेपालकाे नजरमा राजनीतिक दल : एमाले दक्षिणपन्थी, माओवादी अस्थिर, कांग्रेस लाेकतन्त्रमा प्रतिबद्ध

काठमाडौं, माघ २१ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसलाई पुँजीवादी वर्गचरित्रको पार्टी तर संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध भनेर समीक्षा गरेका छन्। 

आज (शनिबार) सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलको समीक्षा गर्ने क्रममा उनले नेकपा एमालेलाई दक्षिणपन्थी अवसरवादी चरित्र बोकेको र अडान नभएको कम्युनिस्ट पार्टी र नेकपा माओवादी केन्द्र भने ढुलमुले चरित्रको रहेको बताएका छन्।

‘एमाले दलाल पुँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीव्र गतिमा दक्षिणपन्थी हुँदै गएको छ, यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध छैन’ उनले प्रतिवेदनमा भनेका छन्, ‘माओवादी केन्द्रको पनि अडान स्पष्ट छैन, सशस्त्र द्वन्द्वबाट शान्तिप्रक्रियामा आएको यो पार्टी शान्ति प्रक्रिया लम्बिदै गएपछि सत्ता केन्द्रित हुँदै गएको छ।’

उनले माओवादी केन्द्र संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध भए पनि सत्ता स्वार्थका लागि जुनसुकै बेला जस्तोसुकै कदम चाल्न सक्ने अस्थिर रहेको उनले बताएका छन्।

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई भने दर्शन, सिद्धान्त, विचार र कार्यदिशा स्पष्ट नभएको पुँजीपति वर्ग चरित्र बोकेको पार्टी भनी व्याख्या गरेका छन्।

रास्वपा राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोकप्रियताको नारा दिएर उदाएको अध्यक्ष नेपालले बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने जनताको क्रान्तिकारी आन्दोलनले उखेलेर फ्याँकेको राजतन्त्र पुनःस्थापना गर्न चाहेको उनको बुझाइ छ। श्रमजीवी वर्गको सच्चा प्रतिनिधिका रुपमा नेकपा एस मात्र रहेको प्रतिवेदनमा उल्लेख छ।

जनता समाजवादी पार्टी (जसपा) प्रतिनिधि सभाको छैँठौँ स्थानमा रहेको जनता समाजवादी पार्टी प्रजातान्त्रिक समाजवादी सिद्धान्त अँगालेको पार्टी हो, मुख्यतः मधेस प्रदेशमा प्रभाव राख्ने यो पार्टी मधेसको मध्यम वर्गीय तप्काको प्रतिनिधि भएको उनले बताएका छन्।

जनमत पार्टी विगतमा मधेसलाई नेपाली उपनिवेशबाट मुक्त गरी स्वतन्त्र राज्य बनाउनु पर्दछ भन्ने पृथकतावादी सोंच अँगालेको पार्टी भए पनि अहिले संविधान मान्ने र त्यस अन्तर्गत रहेर राजनीति गर्ने गरी अगाडि बढेको पार्टी भएको उनले बताएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बुर्जुवा चरित्रको पार्टी भएको उनको बुझाइ छ। ‘मुख्य गरी मधेस प्रदेशमा केन्द्रित रहेको र मधेसका मुद्दामा नै बढी चासो राख्ने यो पार्टी पनि मधेशको मध्यम वर्गीय तप्काको प्रतिनिधि हो,’ उनले प्रतिवेदनमा भनेका छन्, ‘यो गणतन्त्र र सब्घीयताप्रति प्रतिबद्ध रहेको छ।’

नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई  जातीय पहिचान र अधिकारमा जोड दिने पार्टीका रूपमा उनले लिएका छन्। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) जडसूत्रवादी एवं अत्यन्त संकीर्ण चरित्रको कम्युनिष्ट पार्टी र श्रमजीवी वर्गको पक्षमा उभिने तर नेतृत्वमा रहेको निम्नमध्यम वर्गीय जडता र संकीर्णताले गर्दा निरन्तर खुम्चिदै गएको नेता नेपालले बताएका छन्। राष्ट्रिय जनमोर्चा (राजमो) नेकपा (मसाल) को खुला राजनीतिक संगठन भएको उनले बताएका छन्।  संविधान र गणतन्त्रप्रति प्रतिबद्ध र्भ पनि संघीयताकोविरोधी पार्टी भएको उनको ठहर छ।

प्रकाशित मिति: १३:४४ बजे, शनिबार, माघ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्