स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउँछौं : मन्त्री गिरी
स्वास्थ्य पत्रकार मञ्च, नेपालको आठौँ वार्षिक साधारणसभा तथा पाँचौं राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री गिरीले जनतालाई आधारभूत स्वास्थ्य सेवामा परिवर्तनको अनुभूति दिलाइने बताए।
काठमाडाैं, माघ २१ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याइने बताएका छन्।
स्वास्थ्य पत्रकार मञ्च, नेपालको आठौँ वार्षिक साधारणसभा तथा पाँचौं राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री गिरीले जनतालाई आधारभूत स्वास्थ्य सेवामा परिवर्तनको अनुभूति दिलाइने बताए।
'स्वास्थ्य क्षेत्रमा परिवर्तनका लागि सरकारमा सहभागी भएका छौँ,' उनले भने, 'स्वास्थ्य क्षेत्रमा धेरै विसंगति र विकृति छन्। त्यसलाई हटाउन हामी डटेर लाग्छाैं। स्वास्थ्य क्षेत्रमा अधिकतम सुधार गरेर परिवर्तन गरिनेछ।'
मन्त्री गिरीले स्वास्थ्य पत्रकारलाई स्वास्थ्य क्षेत्रका विसङ्गति र विकृतिविरुद्ध कलम चलाउनसमेत आग्रह गरे। गुणस्तरीय स्वास्थ्य सेवाका लागि मन्त्रालयल लागि परेको उनले उल्लेख गरे।
सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सरकारले गुणस्तरीय स्वास्थ्य सेवा जनतामाझ पुर्याउनका लागि लागिपरेको बताउनुभयो। यस्तै सांसद निशा डाँगीले जनतासम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर् याउनुपर्ने उल्लेख गरिन्।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले विभागले जनतालाई कसरी सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सकिन्छ भन्नेमा मन्त्रालय लागिपरेको बताए।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले जनातको स्वास्थ्यबारे खोज अनुसन्धान गरेर समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरे।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमा प्रभावकारीरुपमा कार्यान्वयन गरेर सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याइरहेको बताए। कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपाने र पूर्व अध्यक्ष कल्पना आचार्यले स्वास्थ्य पत्रकारको दक्षता अभिवृद्धिमा जोड दिएको थिए।
सो अवसरमा मञ्चका सदस्यसमेत रहनुभएकी निशा डाँगी सांसदमा निर्वाचित भएकामा बधाइ ज्ञापन गरिएको थियो भने मञ्चका सदस्य भगवती तिमिल्सेनालाई सम्मान गरिएको थियो। अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

