प्रधानमन्त्री-मलेसियाली गृहमन्त्रीबीच भेटवार्ता, नेपाली कामदारकाे हितबारे छलफल
भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले मलेसिया सरकारका तर्फबाट श्रमिकहरूको न्यूनतम ज्याला, १२ सय रिंगेटबाट बृद्धि गरेर १५ सय बनाएकोमा धन्यवाद दिएका थिए।
काठमाडाैं, माघ २० : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसन इजमाइलसँग शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाली कामदारको हितका विषयमा छलफल गरेका थिए।
भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले मलेसिया सरकारका तर्फबाट श्रमिकहरूको न्यूनतम ज्याला, १२ सय रिंगेटबाट बृद्धि गरेर १५ सय बनाएकोमा धन्यवाद दिएका थिए।
यसका साथै फ्रि भिसा र फ्रि टिकेटको व्यवस्थालाई अझै कडाइका साथ लागू गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले यसो गर्न सकेमा रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउन सकिने बताए।
सो क्रममा मलेसियाका गृहमन्त्रीले मलेशिया सरकारले विदेशी श्रमिकहरूलाई भित्राउने प्रक्रिया र मलेसियामा रहँदा कामदारको कल्याण र सुरक्षाका विषयमा गम्भीर रहेको बताए। उनले मलेसियाको ५ वटा आर्थिक क्षेत्रमा कामदारको आवश्यकता रहेको जानकारी दिएका थिए।
भेटमा नेपाल र मलेशियाबीच श्रमिक सहकार्यका विषयमा यसअघि सम्पन्न समझदारीपत्रलाई परिमार्जन गर्ने समझदारी भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

