Kathmandu Press

बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार, ६ जना पक्राउ 

बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार, ६ जना पक्राउ 
घटनाबारे जानकारी दिँदै एसएसपी श्रेष्ठ । तस्बिर : रासस

काठमाडौं, माघ २० : बलि दिन भारत पुर्‍याइएकी १६ वर्षीयानेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा  राखिएको छ । 

ब्यूरोले  पत्रकार सम्मेलन गरी बालिकाको उद्धारबारे जानकारी दिएको हो । ‘बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाहा पैसा पाउने भनिएको रहेछ । भारत लानुअघि बालिकाको तौल, उचाई, शरीरमा दाग, टाटु र रजस्वला भए नभएको परीक्षण गरिएको रहेछ,’ ब्युरो निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले भने। 

उनका अनुसार बालिकालाई भारत लानुअघि र लगेपछि दुई पटक शारीरिक परीक्षण गरिएको थियो । साठी केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इञ्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अङ्गमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उक्त बालिकालाई भेटाइएको अभियुक्तहरुले जानकारी दिएको प्रहरीको भनाइ छ । 

 प्रारम्भिक अनुसन्धानअनुसार अभियुक्तले बालिकालाई मुख्य तान्त्रिक बाबासँग केही दिनमा भेटाउने योजना बनाएको पाइएको एसएसपी श्रेष्ठले जानकारी दिए । ‘आगामी पूर्णिमामा बालिकाको बलि चढाउने उनीहरुको योजना रहेछ,’ उनले भने । 

एसएसपी श्रेष्ठले बालिका भने यसबारे जानकार नभएको बताए। ‘हामी दुई महिनादेखि बालिकाको खोजी अनुसन्धानमा जुटेका थियौँ । दुई दिनअघि पाएको सूचनाका आधारमा बालिकाको उद्धार गरिएको हो,’ उनले भने । 

पीडित बालिका मङ्सिर १७ गते मामाघरबाट काठमाडौँ ल्याइएको थियो । पुस १९ सम्म काठमाडौँमा उनलाई बन्धक बनाइएको थियो । पुस २० गते बालिकालाई नेपाल–भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीस्थित पाहाडगञ्जमा पु¥याइएको प्रहरीको भनाइ छ। 

भारत पु¥याएपछि भारतका विभिन्न तीन स्थानमा रहेका तान्त्रिक बाबासमक्ष विभिन्न मितिमा निज बालिकालाई लगिएको थियो । आमा र बाबुबीचको सम्बन्ध खटपटका कारण बालिका मामाघरमा बस्दै आएकी थिइन । ती बालिकालाई प्रलोभन देखाउनेमा बालिकाको नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ । 

अहिले प्रहरीले यस घटनामा संलग्न ६ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जानकारी एसएसपी श्रेष्ठले जानकारी दिए। प्रहरीको तथ्याङ्कअनुसार नेपालका विभिन्न नाकाबाट बेचबिखन र ओसारपसार हुनबाट माघ महिनामा मात्र १८ जना महिलालाई विभिन्न देशबाट उद्धार गरिएको छ । 

पछिल्ला पाँच वर्षमा ३० जना बालिकालाई बेचबिखन तथा ओसारपसार  हुनबाट उद्धार गरिएको प्रहरीको भनाइ छ । बेचबिखन तथा ओसारपसार  हुनबाट बालिका, महिला, बालक र पुरुष गरी चार सय ४३ जनाको उद्धार गरिएको छ। (रासस)

प्रकाशित मिति: १६:२४ बजे, शुक्रबार, माघ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्