नाबालिग बलात्कारको अभियोगमा ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला

तनहुँ, माघ २० ः नाबालिग बलात्कारको अभियोगमा तनहुँ अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ।
जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो ।
नाबालिकालाई बलात्कार गरेको अभियोगमा बिहीबार आरोपितलाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । मुद्दाको संवेदनशीलताका कारण पीडकको नाम खुलाउन नमिल्ने उनले बताए।
विसं २०७७ असार १५ मा र साउन ४ मा ९, ११ र १२ वर्षीया तीनजना बालिकालाई बलात्कार गरेको अभियोगमा आरोपितलाई प्रहरीले २०७७ कात्तिक २ मा पक्राउ गरी जिल्ला कारागारको थुनामा राखेको थियो । सोही आरोपमा थुनामा रहेका १७ वर्षीय किशोरलाई भने सफाइ दिइएको छ ।
आरोपितमाथि तीन वटा छुट्टाछुट्टै बलात्कारको मुद्दा दर्ता भएकामा बाँकी दुई वटा मुद्दामा पनि कसुर ठहर भएको छ भने सजाय निर्धारण भने बाँकी छ । आरोपित २०७७ कात्तिक अन्तिम सातादेखि पुर्पक्षका लागि थुनामा छन् ।
विसं २०७७ कात्तिक २४ मा जबर्जस्ती करणी अभियोगमा प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा १७ पटक पेशी चढेको थियो।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

