Kathmandu Press

सांसद अरुणकुमार चौधरी जेल चलान 

१३ वर्ष पुराना आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका चौधरी बिहीबार बाँकेबाट पक्राउ परेका थिए।
सांसद अरुणकुमार चौधरी जेल चलान 

काठमाडौं, माघ २० : कैलाली–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । 

१३ वर्ष पुराना आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका चौधरी बिहीबार बाँकेबाट पक्राउ परेका थिए।  चौधरीलाई बिहीबार नै प्रहरीले जिल्ला अदालत कैलालीमा पेस गरेको थियो । अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान भएका हुन् ।

एकवर्षभन्दा मक सजाय भएका व्यक्तिले कैद बापतको रकम तिर्न सकिने व्यवस्था रहेको भएपनि चौधरीले त्यसका लागि अदालतमा कुनै निवेदन नदिएकाले कारागार चलान गरिएको हो । चौधरीले उक्त सुविधाका लागि कारागारबा पनि पनि निवेदन दिन सक्नेछन् । 

२०६६ सालमा ट्र्याक्टरमा आगजनी गरेको मुद्दामा कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनालाई  ६ महिना कैद र ८ लाख ७५ हजार जरिवाना गर्ने फैसला सुनाएको थियो । फैसला कार्यान्वयन नहुँदा प्रहरीले तीनै जनालाई फरार सूचीमा राखेको थियो। घटनामा संलग्न वीरबहादुर चौधरीलाई भने प्रहरीले एकसाता अघिमात्रै पक्राउ गरेको थियो । 

सांसद चौधरीले नागरिक उन्मुक्ति पार्टीबाट चुनाव जितेका थिए । नागरिक उन्मुक्ति पार्टीले चौधरीलाई रिहा गर्न प्रधानमन्त्रीलाई चौबिस घन्टे अल्टिमेटम दिइसकेको छ । सो पार्टीले सांसदलाई पक्राउ गर्न प्रहरीले सभामुखको अनुमति लिनुपर्नेमा त्यसो नगरी पक्राउ गरेको भन्दै विरोध जनाएको छ । प्रहरीले भने फौजदारी कसुर ठहर भएका सांसदलाई पक्राउ गर्न सभामुखको अनुमति लिननपर्ने कानुनमा व्यवस्था भएकाले पक्राउ गरिएको बताएको छ ।  


 

प्रकाशित मिति: ११:२० बजे, शुक्रबार, माघ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्