Kathmandu Press

रास्वपा सरकारबाट तत्काल नबाहिरिने, गृहबारे निर्णय गर्न प्रधानमन्त्रीलाई २ दिने अल्टिमेटम 

गृहमन्त्रालय नपाएको झोँकमा सरकारबाट फिर्ता हुने चेतावनी दिएको रास्वपाले बैठकपछि भने तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको हो ।
रास्वपा सरकारबाट तत्काल नबाहिरिने, गृहबारे निर्णय गर्न प्रधानमन्त्रीलाई २ दिने अल्टिमेटम 

काठमाडौं, माघ १९ : राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारबाट नबाहिरिने भएको छ । गृहमन्त्रालय नपाएको झोँकमा सरकारबाट फिर्ता हुने चेतावनी दिएको रास्वपाले बैठकपछि भने तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको हो । 

बिहीबार साँझदेखि बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट नबाहिरिने निर्णय गरेको हो ।  बैठकपछि गृह मन्त्रालयबारे निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई रास्वपाले दुई दिनको अल्टिमेटम दिएको छ । 

स्रोतका अनुसार सरकारबारे निर्णय गर्न बैठक बसेपछि प्रधानमन्त्री प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोेजक केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई टेलिफोन गरेका थिए । दुबैैले गृह मन्त्रालयबारे निर्णय गर्न दुई दिनको समय मागेपछि रास्वपाले दुई दिन कुर्ने निर्णय गरेको हो । 

रास्वपाको बैठकमा सहभागी अधिकांश सांसदहरुले पनि गृहमन्त्रालयकै कारण सरकारबाट फिर्ता हुन नहुने मत राखेका थिए । प्रचण्ड र ओलीसँगको लगातार भेटपछि पनि गृह मन्त्रालय नपाउने संकेत पाएपछि रास्वपा सभापति लामिछानेले सरकारबाट फिर्ता हुने निर्णय लिनकै लागि पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएका थिए । 

रास्वपाले बैठक बोलाएपछि प्रधानमन्त्री प्रचण्डले पनि माओवादीको स्थायी कमिटी बैठकमा रास्वापा सरकारबाट फिर्ता हुने र समर्थनसमेत फिर्ता गर्ने ब्रिफिङ गरेका थिए । पत्रकारहरुसँगको कुराकानीमा भने प्रचण्डले रास्वपाले सरकारलाई दिएका समर्थन फिर्ता नलिने विश्वास व्यक्त गरेका थिए । 

माओवादीका प्रवक्तासमेत रहेका उपाध्यक्ष कृष्ण बहादुर महराले पनि गृहमन्त्रालयको विषयलाई लिएर रास्वपाले तत्काल कुनै निर्णय लिन नहुने बताउँदै उसलाई धैर्य गर्न सुझाएका थिए । 

रास्वपाले भने गृहमन्त्रालय कुनैपनि हालतमा आफूले पाउनुपर्ने अडान राख्दै आएको छ । आजको बैठकपछि रास्वपाका प्रवक्ता मुकुल ढकालले पनि गृहमन्त्रालय कुनैपनि हालतमा नछाड्ने निर्णय भएको बताए । गृहमा सभापतिलाई नै पठाउने कि अरुलाई पठाउने भन्ने विषयमा भने पार्टीको बैठकले निर्णय गर्ने उनले बताए । 

‘गृह मन्त्रालय हामीले पाएका हौं, यो अडानबाट हामी पछि हट्दैनौं,’ बैठकपछि ढकालले सञ्चारकर्मीहरुसँग भने, ‘को पठाउने भन्ने हाम्रो आफ्नो विषय हो ।’

प्रकाशित मिति: २१:१९ बजे, बिहीबार, माघ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्