Kathmandu Press

सन्दीप बन्द प्रशिक्षणमा सहभागी 

सन्दीप बन्द प्रशिक्षणमा सहभागी 

काठमाडौं, माघ १९ : क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी भएका छन् । नाबालिक बलात्कार आरोप लागेपछि सन्दीपलाई निलम्बन गरेको नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार मात्रै उनीमाथिको निलम्बन फुकुवा गरेको थियो । 

निलम्बन फुकुवा भएपछि सन्दीप बिहीबारबाट नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी भएका हुन्। नेपाली टिम घरेलु मैदानमा हुने आईसिसी विश्वकप लिग–२ अन्तर्गतको नामिबिया र स्कटल्यान्डसँगको त्रिकोणात्मक  सिरिजका लागि बन्द प्रशिक्षणमा छ। 

योसँगै सन्दीप राष्ट्रिय टिममा फर्कनने बाटो खुलेको छ। बन्द प्रशिक्षणमा राम्रो गर्न सके सन्दीप त्रिकोणात्मक सिरिजका लागि नेपाली टिममा छनोट हुन सक्ने छन्। 

बन्द प्रशिक्षणमा फिजियो, ट्रेनर र कोचले सन्दीपको स्थितिको मुल्यांकन गर्ने छन्, यदि उनीहरुले ‘ओके’ भने सन्दीप टिममा पर्ने क्यानले जनाएको छ। फिटनेस ट्रेनर र फिजियोको रिपोर्ट सकारात्मक आएपछि सन्दीपले नियमित प्रशिक्षण सुरु गर्ने क्यानले जनाएको छ। 

बिहीबार राष्ट्रिय टिमको ‘रेष्ट डे’ भएकाले शुक्रबारमात्र उनको फिटनेस परीक्षण हुनेछ । ‘रेष्ट डे’ भए पनि केही खेलाडीले भने कीर्तिपुरमा प्रशिक्षण गरेका थिए, जसमा सन्दीप पनि थिए ।

फागुन २ बाट सुरु हुने त्रिकोणात्मक सिरिजका लागि क्यानले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराएको छ। 

बलात्कार आरोपमा सन्दीपविरुद्ध उजुरी परेसँगै प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि क्यानले भदौ २३ गते राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो। त्यतिबेला क्यारेबियन प्रियिमर लिग खेलिरहेका सन्दीप असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट पक्राउ परेका थिए।

पुर्पक्षका लागि थुनामा रहेका सन्दीप पुस २८ गते २० लाख धरौटीमा रिहा भएका थिए।

प्रकाशित मिति: १७:५७ बजे, बिहीबार, माघ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्