कांग्रेस जिल्ला सभापतिहरुले भने, ‘पार्टीको आन्तरिक कलह अन्त्य गर्नुहोस्’
काठमाडौं, पुस २१ : कांग्रेसका तीन दर्जन जिल्ला सभापतिहरुले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरेर अघि बढ्न नेतृत्वलाई सुझाव दिएका छन्।
केन्....
काठमाडौं, पुस २१ : कांग्रेसका तीन दर्जन जिल्ला सभापतिहरुले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरेर अघि बढ्न नेतृत्वलाई सुझाव दिएका छन्।
केन्द्रिय समितिको बैठक बहिष्कार गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतका नेताहरुले परामर्शका लागि भन्दै बोलाएको जिल्ला सभापतिहरूको भेलामा बोल्ने अधिकांश सभापतिहरुले पार्टीभित्रको आन्तरिक कलह अन्त्य गर्न नेताहरुलाई आग्रह गरेका हुन्।
सोमबार पार्टी कार्यालय सानेपामा भएको उक्त भेलामा ३७ जिल्ला सभापति र एक जिल्लाका सचिव सहभागी थिए। भेलाको सुरुमै नेताहरु रामचन्द्र पौडेल र प्रकाशमान सिंहले केन्द्रिय समिति बैठक बहिष्कार गर्नुपरेको विषयमा व्रिफिङ गरेका थिए। त्यस लगत्तै जिल्ला सभापतिहरुलाई बोल्न दिइएको थियो।
नेता सिंहले केन्द्रिय कार्यसमितिभित्र पदाधिकारी र निर्वाचित केन्द्रिय सदस्यहरुमा आफूहरुको बहुमत हुँदा पनि सभापतिले गर्ने मनोनित लगायतका पदमा आफूहरुलाई हिस्सा नदिएको धारणा राखेका थिए।
नेता सिंहको उक्त धारणा आउने वित्तिकै जिल्ला सभापतिहरुले भागवण्डाले पार्टी नचल्ने भन्दै आन्तरिक कलह साम्य गरेर अघि बढ्न नेताहरुलाई सुझाव दिएका थिए। ‘पार्टीलाई एक ढिक्का बनाएर लैजानु पर्ने अहिलेको आवश्यकता हो’ झापा सभापति उद्धव थापाले बैठकमा भने, ‘संस्थापन इतरका नेताहरु बीचमै सहमति छैन, यस्तै हो भने अझै अर्को कार्यकाल पनि शेरबहादुर देउवानै सभापति निर्वाचित हुन्छन्।’
मोरङ सभापति डिकबहादुर लिम्बुले नेताहरुले आफूहरुलाई अप्ठ्यारो परेपछि जिल्ला सभापति खोज्ने प्रवृति राम्रो नभएको धारणा राखेका थिए। उनले गत महासमिति बैठकमा जिल्ला सभापतिहरुले राखेको प्रस्ताव तुहाउन सभापति शेरबहादुर देउवासँगै तपाईंहरु पनि लागेकाले भन्दै अप्ठ्यारो पर्दा मात्रै जिल्ला सभापति सम्झनु गलत भएको बताएका थिए।
भेलामा काभ्रे जिल्ला सभापति मधु आचार्यले सभापतिले बहुमतको आधारमा विधि र विधान कसरी मिचेका छन् भन्ने विषयमा कार्यपत्र नै प्रस्तुत गरेका थिए। उनले महाधिवेशनको कार्यतालिका गलत भएको, महाधिवेशनको मिति घोषण जस्तो महत्वपूर्ण निर्णय बहुमतका आधारमा गरेको लगायतका गतिविधिको व्याख्या गरेका थिए।
धादिङ सभापति रमेश धमलाले संस्थापन इतरका नेताहरुबीच नै सहमति नहुनु दु:खद भएको धारणा भेलामा राखेका थिए। ‘तपाईंहरु आफैबीच सहमति देखिँदैन’ धमलाले नेताहरुलाई भने, ‘यस्तै हो भने हामी जिल्ला सभापतिहरुले पनि अर्को गुट बनाउनु पर्ने हुन्छ।’
कास्की जिल्ला सभापति कृष्ण केसीले पार्टीभित्र भागवण्डा अनुमोदन गर्ने भेलाको उद्देश्य बनाउन नहुने धारणा राखेका थिए। ‘भागवण्डा अनुमोदन गर्नेगरी यो भेलामा छलफल हुनुहुँदैन’ केसीले भने, ‘पार्टी सभापतिले नेविसंघमा ५० वर्ष उमेरको बनाए भने तपाईंहरुले ३२ वर्षभित्रबाट दिनुस् न।’
रोल्पा सभापति अमरसिंह पुनले महाधिवेशनको मिति तोक्ने केन्द्रिय कार्यसमितिको निर्णय विधान विपरीत भएको बताएका थिए। उनले केन्द्रबाट पार्टीको साधारण सदस्य वितरण गर्ने काम तत्काल रोक्नु पर्ने धारणा भेलामा राखेका थिए। ‘तपाईंहरु केन्द्रबाट पार्टीको साधारण सदस्य वितरण गर्नुहुन्छ। त्यो जिल्ला, क्षेत्र र वडालाई थाहा हुँदैन’ पुनले भने, ‘केन्द्रबाट सदस्यता लाद्ने विषय रोक्न तपाईंहरुले अडान लिनुपर्छ।’
चितवन जिल्ला सभापति जीतनारायण श्रेष्ठले पार्टी सभापतिसँगै संस्थापन इतरले पनि गलत गरेको धारणा राखेका थिए। ‘तपाईंहरु पनि पदाधिकारी बैठक भन्दै गलत निर्णय गर्दै आउनु भयो’ श्रेष्ठले भने, ‘नेविसंघ गठनमै तपाईंहरुले ३२ वर्षभन्दा तलका साथीहरुको नाम किन दिन सक्नु भएन?’
बैठकमा बोल्ने अधिकांशले गत महासमिति बैठकमा जिल्ला सभापतिहरुले संयुक्त रुपमा पेश गरेको प्रस्ताव केन्द्रिय नेतृत्वले अस्वीकार गरेकोमा असन्तुष्टि जनाएका थिए। सोमबार १४ जना जिल्ला सभापतिहरुले आ-आफ्नो धारणा राखेको र बैठक मंगलबार बिहान ११ बजे पुन: बस्नेछ।




