‘संसदीय गरिमा कायम गर्न सबैको सक्रिय भूमिका आवश्यक’
'संसदीय प्रक्रिया र अभ्यासमा मेरो पहिलो उपस्थिति हो। संवैधानिक अभ्यास अवलम्बनको अहिलेसम्म आइपुग्दा ठूलो उपलब्धि हो', उनले भने।
काठमाडाैं, माघ १९ : कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले संसदीय प्रक्रिया र अभ्यासको व्यवहारिक कार्यान्वयन गर्दै संसदीय गरिमा कायम गर्न सबैको सक्रिय भूमिका चाहिने औँल्याए।
बिहीबार काठमाडौंमा प्रतिनिधिसभाका सदस्यका लागि संसदीय प्रक्रिया र अभ्यास विषयक अभिमुखीकरण कार्यक्रममा उनले संसदीय अभ्यासमा आफ्नो पहिलो उपस्थिति रहेको भन्दै संसदीय प्रक्रिया र अभ्यासको विद्यार्थीका रुपमा रहेर जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गरे।
'संसदीय प्रक्रिया र अभ्यासमा मेरो पहिलो उपस्थिति हो। संवैधानिक अभ्यास अवलम्बनको अहिलेसम्म आइपुग्दा ठूलो उपलब्धि हो', उनले भने।
संसद्को प्रभावकारी भूमिका र गरिमा बढाउन संसदीय प्रक्रिया र पद्धत्तिको कुशल अवलम्बन गरेर मात्रै संसदीय दायित्व निर्वाह हुने र जनताप्रति उत्तरदायी हुने भएकाले यहाँ प्रस्तुत हुने व्यवहार र विचारलाई मर्यादित र संसदीय व्यवहारअनुरुप हुनुपर्ने उनको भनाइ छ।
सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले संसदीय प्रक्रिया र अभ्यासबारे सांसदलाई अभिमुखिकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
उनले संसद्को प्रमुख कार्य सरकार गठन, कानुन निर्माण, सरकारको नीति तथा कार्यक्रममा छलफल, वार्षिक बजेट निर्माण तथा सरकारको काम कारबाहीको निगरानी गर्दै सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने प्रमुख भूमिका रहेको उल्लेख गरे।
कार्यक्रममा संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संसद्को मर्यादा र सांसदको भूमिका विषयमा प्रशिक्षण दिनेछन्। संसदीय प्रक्रिया र अभ्यासबारे पूर्वउपसभामुख पुष्पा भुसालले प्रस्तुति दिनेछन् भने संसदीय समिति प्रणाली, अभ्यास र संसदीय निगरानीबारे वरिष्ठ अधिवक्ता तथा संविधानसभा सदस्य खिमलाल देवकोटालाले प्रशिक्षण दिनेछन्।
त्यसैगरी पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले योजना तर्जुमा, बजेट निर्माण, आर्थिक कार्यविधि र संसद्को भूमिका विषयमा प्रस्तुति दिनेछन्। नेपाल कानुन आयोगका पूर्व अध्यक्ष माधव पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेती र संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले प्रशिक्षण दिनुहुने कार्यतालिका छ।











![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)