संसदलाई जनउत्तरदायी बनाउनुपर्छ : सभामुख घिमिरे
बिहीबार काठमाडौंमा प्रतिनिधिसभाका सदस्यका लागि संसदीय प्रक्रिया र अभ्यास विषयक अभिमुखीकरण कार्यक्रममा सभामुख घिमिरेले संसद् र सांसदहरुको भूमिका प्रभावकारी, जनताप्रति उत्तरदायि बनाउनुपर्ने बताएका हुन्।
काठमाडाैं, माघ १९ : सभामुख देवराज घिमिरेले संसदलाई जनउत्तरदायी बनाउनुपर्ने बताएका छन्।
बिहीबार काठमाडौंमा प्रतिनिधिसभाका सदस्यका लागि संसदीय प्रक्रिया र अभ्यास विषयक अभिमुखीकरण कार्यक्रममा सभामुख घिमिरेले संसद् र सांसदहरुको भूमिका प्रभावकारी, जनताप्रति उत्तरदायि बनाउनुपर्ने बताएका हुन्।
नागरिकले संसद्का गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट प्रभावकारी काम खोजिरहेको भन्दै उनले छोटो समयमा नै संसदीय गतिविधिले नेपालमा शिक्षा दिने किसिमको भूमिका खेल्नुपर्ने बताए।
उनले सबै मिलेर संसदका सवै अधिवेशनहरुलाई व्यवस्थीत गर्नुपर्ने र सांसदहरुले पनि यसमा झन बढी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।
उनले भने, 'संसदीय व्यवस्था र प्रणालीको गरिमा बढाउन र संसद्को भूमिकालाई जनउत्तरदायी बनाउन विज्ञ सरोकारवालाबाट प्रस्तुत हुने ज्ञान, सीप र अनुभवले संसदीय भूमिकालाई थप सिर्जनशील बनाउन मद्दत पुग्नेछ।'
उनले विगतका कतिपय संसदीय अभ्यास जनउत्तरदायी नभएको गुनासो बढेको भन्दै नयाँ परिस्थितिमा संसदीय भूमिकालाई प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गरे।
'संसद्को सर्वोच्च निकाय संसद्प्रति देशले आशा गरेको छ। संसद्को आफ्नै प्रक्रिया र अभ्यास छ। विषयगत र जनउत्तरदायी भएर संसदीय काम कारबाहीलाई जनताप्रति जवाफदेही र पारदर्शी ढङ्गले अघि बढाउन दुई दिने अभिमुखिकरणले मद्दत पुग्ने विश्वास लिएको छु', उनले भने।
उनले संसद्मा प्रतिपक्षको भूमिकालाई प्रभावकारी ढङ्गबाट अभिव्यक्ति गर्ने, त्यसलाई व्यवहारमा उतार्नका लागि भूमिका खेल्न आग्रह पनि गरे।
संसद्लाई प्रभावकारी बनाउने भूमिका सरकारको रहेको उल्लेख गर्दै सरकारका ऐन, कानुन बनाउने, देशको बजेट निर्माणलगायतका काम गर्दै प्रतिपक्षी दललाई पनि समन्वय गरेर लैजान सरकारको पनि जवाफदेहिता जरुरी भएको धारणा राखे।
संघीय संसद सचिवालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रम शुक्रबारसम्म चल्नेछ।











